सरकारमा रहेका दलहरुले फेरी भागबण्डामा विभिन्न देशमा ८ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो ।
जस अनुसार एमालेका ५, जनता समाजवादी पार्टी (जसपा) का २ र माओवादी केन्द्रबाट १ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा परेको दुई जनाको भने नाम नआएकाले सिफारिस भएको छैन ।
सत्ताको मुख्य घटक एमालेले आफ्नो भागमा परेको भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधरको नाम सिफारिस गरिएको छ । ्
रेग्मी दोहोरिएर राजदूत सिफारिसमा परेका हुन् । उनी यसअघि बेलायतमा राजदूत हुँदा पनि एमाले कोटाबाटै परेका थिए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको साउदी अरबमा अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि डा पुष्पराज राजकर्णिकार सिफारिस गरिएको छ ।
माओवादी कोटामा परेको बेलायतका लागि डा. विजन पन्तको सिफारिस गरिएको छ । रास्वपाका तर्फबाट भने नाम नआएकाले राजदूत सिफारीस हुन बाँकी रहेको छ ।
यसअघि सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । जसमा कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कोटामा राजदूत बनेका फिर्ता बोलाइएका थिए ।