साठी किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले सो समुहले धेरै ठूलो परिमाणमा सुन तस्करी गरेको तथ्य फेला पारेको छ ।
त्यही तस्करीमा संलग्न समूहले ३ हजार १ सय ९४ किलो सुन तस्करी गरेको सीआइवीले जनाएको छ । ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ ।
त्यस्तै विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष छ । यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यति ठूलो सुन तस्करीको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत संलग्न भएको पनि प्रहरीले खुलाएको छ । पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबीले जनाएका छन् ।
सीआइवी प्रमुख एआइजी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार स्थापनादेखि यी दुई गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्बबराबरको कारोबार गरेको देखिएको छ । उक्त प्रकरणमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जना पक्राउ परेका छन् ।
ब्रेकसुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ मागदाबी गरिएको थियो । सीआईबीले पक्राउ गरेकामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा गएका छन् । उनीहरूविरुद्ध भन्सार ऐन, २०६४, संगठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहिता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ ।
अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रुपैयाँ, क्रिप्टो करेन्सीतर्फ १ खर्ब ४९ अर्ब ६८ लाख २८ करोड ७ हजार ८८६ रुपैयाँ, नेपाल राष्ट्र बैंक ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ बिगो मागदाबी छ । त्यस्तै पेवेल नेपाल प्रा.लि.६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३, सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरूबाट ५ अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ बिगो मागदाबी गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ भारतीय र २ जना चिनियाँ नागरिकसमेत रहेका छन् । ब्रेकसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो । त्यसैको अनुसन्धानको सिलसिलामा यी तथ्यहरु भेटिएका हुन् ।