मार्ग प्रशस्त गर्न गरेको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन् ।
चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रससँगको सहमतिपछि सरकारबाट बाहिरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।
एमालेसँगको सहमति कांग्रेसबाट अनुमोदन
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई समर्थन गरेको हो ।
एमालेसँग सत्ता सहकार्य गर्ने सहमति कांग्रेस बैठकबाट अनुमोदन
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत गरिएको बताए । उनले भने, ‘एमाले र कांग्रेसबीच सत्ता साझेदारी गर्ने दुई दलका शीर्ष नेर्ताहरूबीच भएको समझदारीलाई बैठकले समर्थन गरेको छ ।’
यसैगरी बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए । उनले भने, ‘बैठकले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषयलाई पनि अनुमोदन गरेको छ ।’
कांग्रेस र एमालेले असार १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाएर नयाँ सरकार बनाउने समझदारी गरेका थिए ।
लोसपाको समर्थन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए । विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने लोसपाको बुझाइ रहेको छ ।