भरखरै मात्र स्थापनाको दोस्रो बार्षिकोत्सव मनाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद छरपष्ट भएको छ । महासचिव मुकुल ढकालले सभापति रवि लामिछानेप्रति विभिन्न आरोप लगाएका छन् भने पार्टीले ढकाललाई निलम्बन गरेको छ ।
रास्वपाले अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै महामन्त्री ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको हो ।
त्यसअघि बैठकमै उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले महामन्त्रीको कार्यशैली ठिक नभएको भन्दै मान्न नसकिने बताएका थिए । त्यसमा सभापति लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत पनि महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।
ढकाललाई पदबाट एक हप्ताका लागि निलम्बन गरिएको छ भने त्यसपछि के गर्ने भन्ने विषयमा अनुशासन आयोगले प्रतिवेदनसहित दिने सिफारिसका आधारमा थप निर्णय लिने केन्द्रीय समितिले तय गरेको नेताहरुले बताएका छन् ।
तर ढकालले यसअघि कार्यशैलीको विषयलाई लिएर लामिछानेप्रति गम्भिर आरोपहरु लगाएका छन् । सभापति लामिछानेको अत्यन्त विश्वास पात्राका रुपमा काम गर्दै आएका महामन्त्री ढकालले लामिछानेलाई विग्रेका सबै कामको अपजस अरुलाई दिने लामिछानेको कार्यशैली ठिक नभएको र यसलाई सच्याउनु पर्ने बताएका छन् । ”गोर्खा मिडियामा उहाँ प्रबन्ध निर्देशक हुनुनहुन्थ्यो, त्यहाँ अध्यक्ष जीवी राई गलत, अनि पार्टीका उहाँ सभापति हुनुहुन्छ म महामन्त्री गलत कसरी हुन्छ? के उहाँ सधै ठिक अरु सबै ठाउँमा बेठिक हुन्छ? ढकालले प्रश्न गरेका छन् ।
ढकालले जे जति कार्य पार्टीमा भएका छन् त्यो सबै पार्टी सभापति निर्देशनमा भएको बताउँदै कतिपय विषयहरुमा आफ्नो विमती रहँदा पनि उनले देश बनाउँछन् की भनेर साथ दिएको बताएका छन् ।
लामिछाने र ढकालबीचको असमझदारी भने हालै ढकालले देश दौडाह गरेर तयार पारेको समीक्षा प्रतिवेदनबाट देखा परेको हो । उनले यही पारामा जाने हो भने ०८४ को चुनावमा पार्टीको अबस्था चिन्ताजनक हुने उल्लेख गरेका थिए । साथै उक्त प्रतिवेदनलाई केन्द्रीय समितिमा छलफल गर्न र सार्वजनिक गर्न पनि माग गरेका थिए । साथै केन्द्रीय समितिको बैठकको लाइभ प्रशारण गर्नका लागि पनि उनले माग गरेका थिए ।
तर लाइभ प्रसारण गर्ने कुरालाई लामिछानेले केन्द्रिय समितिको बैठकमा राखिदिए । त्यहाँ उक्त प्रस्ताव अस्वीकृत भयो । त्यसपछि ढकालले आफुलाई बोल्न नदिइएको भन्दै मुखमा कालो पट्टी बाँधेर बैठकमा उपस्थित भए । अनि उनले पार्टी सभापति लामिछानेका बारेमा बाहिर विभिन्न आरोपहरु लगाए । उनी बाहिर बोल्न थालपछि उनीमाथी कारवाहीको डण्ड चलाइयो ।
‘एउटा राजनीतिक दलको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले गरेको अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेकाले पार्टीको अनुशासन आयोगले १ हप्ताका लागि निलम्बनको प्रस्ताव सिफारिस गरेको थियो । आयोगको उक्त सिफारिसलाई केन्द्रीय समितिले पारित गरेको छ,’ प्रमुख सचेतक परियारले भने, ‘ढकालले सम्हाल्दै आएको महामन्त्रीको जिम्मेवारी सहप्रवक्ता कविन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता मनीष झालाई दिने निर्णय केन्द्रीय समितिले गरेको छ ।’
यस विषयमा छलफल गर्न रास्वपाको बैठक बुधबार बिहानैबाट बसेको थियो । केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो ‘समीक्षा यात्रा प्रतिवेदन’को विषयमा हुने छलफललाई सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका थिए । ढकालको उक्त मागलाई सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा अधिकांश केन्द्रीय सदस्य विपक्षमा देखिए । त्यसपछि ढकालले मुखमा मास्क लगाई त्यसमाथि कालो टेपको पट्टी लगाए । आफूलाई बोल्न नदिइएको भन्दै ढकालले उक्त शैलीको विरोध गरेका हुन् । केन्द्रीय समितिमा ढकालको प्रतिवेदन सह–महामन्त्री बुर्लाकोटीले वाचन गरेका थिए । तर, उनले प्रतिवेदनका आधारमा तयार पारेको ६ पृष्ठको प्रस्ताव भने राख्न नदिएको ढकालले बताए ।
बैठकमा प्रतिवेदनमाथि सबैजसो सदस्यले धारणा राखिसकेका थिए । बैठकमा उठेका प्रश्नको जवाफ केन्द्रीय सदस्यहरूले महामन्त्रीबाट माग गरेका थिए । आफूबाट जबर्जस्ती जवाफ माग गरिएको र त्यसक्रममा दुर्व्यवहार गरिएको ढकालको आरोप छ । प्रत्यक्ष प्रसारण गरेको बैठकमा मात्रै बोल्ने कुरा राखिसकेको अवस्थामा केन्द्रीय सदस्यहरूले जवाफ दिन दबाब दिएको उनले बताए । ‘मुखमा टेप टाँसिसकेको राजनीतिक प्राणीले बोल् भन्दैमा बोल्छ ? अनि बोल् कि बोल् भनेर सबै जनाले ह्यारेस गरे,’ उनले भने, ‘उताबाट सभापतिले पनि घोचेको घोच्यै गर्ने । ज्यादै ह्यारेसमेन्ट गरेपछि म बैठक स्थलबाट हिँडेको हुँ ।’
सारा दोष काम गर्ने मान्छेलाई लगाउने पहिलेदेखिकै रणनीतिअनुसार सभापति लामिछानेले अहिले त्यही व्यवहार गरिरहेको ढकालले बताए । पार्टी सभापतिलाई साथ दिनका लागि नै काम गर्दा पनि आत्मसात् गर्न नसकेको तर ‘पार्टी सरकारमा गएपछि इमेज र क्रेज डाउन भएको’लाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने प्रतिवेदनका कुरा स्वीकार गर्न नसकेको उनले बताए । ‘रवि लामिछानेको होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्दा निकालिएँ,’ उनले भने, ‘मन्त्रीहरूले आफ्नो अक्षमताको भारी महामन्त्रीलाई बोकाउन खोज्नुभएको छ ।’
गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको बचत अपचलन गरेको आरोप जीबी राई र लामिछानेमाथि लागेको छ । तर लामिछानेले उक्त आरोप अस्वीकार गर्दै राईलाई नै दोषी देखाउँदै आएका छन् । पार्टी महामन्त्रीलाई दोष थुपार्दै गर्दा सभापति लामिछानेको जिम्मेवारी के हुने भन्ने कुरा ढकालले उक्त प्रसंगसँगै जोडेर उठाएका छन् । ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र पार्टीको महामन्त्री भन्ने पद बराबरी र एउटै मानकको पद हो । जतिबेला उहाँ त्यसको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो, त्यतिबेला उहाँको अध्यक्ष जीबी राई दोषी हुने । आज जहाँ उहाँ सभापति हुनुहुन्छ र म महामन्त्री छु, सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने कुरा आयो,’ लामिछानेको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ढकालले भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब उहाँ नेता हुनुभयो तब पत्रकार दोषी । जब उहाँ प्रतिपक्ष हुनुभयो सत्तापक्ष दोषी, जब उहाँ सत्तापक्ष हुनुभयो तब प्रतिपक्ष दोषी । यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’
पार्टीको प्रतिनिधित्व गर्दै मन्त्री भएकाहरूले जिम्मेवारीपूर्वक काम गर्न नसकेको र सरकारमा गएपछि गर्ने भनेर दिएका सार्वजनिक अभिव्यक्तिअनुसार काम नगरेपछिका कमजोरी लुकाउन आफूमाथि कारबाही गरिन लागिएको ढकालको आरोप छ । रास्वपाबाट सरकारमा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा उपसभापति अर्याल श्रममन्त्री, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री र संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री छन् ।
रास्वपाका नेताहरूले महामन्त्री ढकालमाथि समीक्षा यात्राको प्रतिवेदन पार्टीमा छलफल हुनु पहिल्यै सञ्चारमाध्यममा बाँडेको, कार्यक्षमता, व्यवहार, पार्टी विधान एवं पद्धतिअनुसार नचलेको, महोत्तरीको जलेश्वरमा बसेको बैठकमा पनि पद्धति मिचेको र सचिवालय गठनमा विधि नमानेको आरोप लगाएका छन् । क्षमताविहीन व्यक्तिलाई पार्टी सचिवालयमा राखेको तर क्षमता भएका नेतालाई ठाउँ नदिएको पनि उनीमाथि आरोप लगाइएको छ । इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार मिलन लिम्बूलाई पराजित गर्न पनि भूमिका खेलेको उनीमाथि आरोप छ । आरोप/प्रत्यारोपसँगै ढकाल बैठकबाट बाहिरिएका थिए ।