प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ मन्त्रीले सपथ लिएका छन् । ओलीले चौथों पटक नेतृत्वको गरेको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता/महिना लाग्ने विगतको परम्परा यसपटक तोडिएको हो ।
सत्ता गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबन्डामा अन्तरदल किचलो र भागबन्डा भएपछि पार्टी भित्रका आकांक्षी मिलाउँदा मिलाउँदै मन्त्रिपरिषद् विस्तारमै लामो समय लाग्ने गरेको थियो । परम्परा जस्तै बनेको उक्त बिकृतिलाई तोड्दै गठबन्धन दलहरुले यसपटक प्रधानमन्त्रीको शपथ अघि नै मन्त्रालयको भागबन्डा र मन्त्रीहरूको नाम टुंगो लगाए । २२ वटै मन्त्रालयहरुमा मन्त्री नियुक्त भइ सोमबार नै शपथ लिएका छन् ।
सत्तारुढ प्रम्ख घटक नेपाली कांग्रेसबाट प्रकाशमान सिंह सहरी विकास मन्त्रालय र एमालेबाट विष्णु पौडेल अर्थमन्त्रीसहित उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । पौडेल यसअघि नै अर्थमन्त्री भइसकेका व्यक्ति हुन् ।
कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालय दिइएको छ । नयाँ सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनेका छन् । कांग्रेसकै शेखर कोइराला खेमाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् ।
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्रालयको जिम्मा दिइएको छ । मधेशबाट राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन, सोलुखुम्बुका मानवीर राई रक्षामन्त्री, बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइएको छ । गुरुङ यसअघि गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् भने भण्डारी र अधिकारी यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए ।
एमालेले शिक्षामन्त्रीमा विद्या भट्टराई र भौतिक पूर्वाधारमा देवेन्द्र दाहाललाई मन्त्री बनाएका छन् ।
लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।









