२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त गरेका छन् । आईतबार प्रधानमन्त्री ओलीको पक्षमा १८८ बिश्वासको मत दिएका हुन् । उनको विपक्षमा ७४ सांसदले मतदान गरेका थिए ।

गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए ।

सभामुख देवराज घिमिरेले दिएको जानकारी अनुसार, आइतबारको प्रतिनिधि सभा बैठकमा २६३ सांसद उपस्थित थिए। उपस्थितमध्ये ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका हुन्। एक जना सांसद भने तटस्थ बसेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यराति भएको सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

गत असार २८ गते निवर्तमान प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वासको मत गुमाएपछि ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए ।

अन्य कसैको दाबी नपरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३१ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

यी दुई दलबीच भएको समझदारी अनुसार, ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : २६ बजे