१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

बाढीबाट थामेका २३ घरमा क्षति, एक जना बेपत्ता




आरोहीहरुको गाउॅ भनेर चिनिने थामेमा आएको बाढीले २३ घरमा क्षति पुगेको छ । थामे सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–५ मा पर्दछ । बाढीमा परेर स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता छन् । स्थानीय जलविद्युत् आयोजनाको ड्यामसमेत बाढीले भत्काएको छ । विद्युत्‌को ड्याम भत्किँदा त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार थामेमा आएको बाढीबाट १३ घर पूर्ण र १० घरमा आंशिक क्षति भएको छ । एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक र २ वटा होटलका भौतिक संरचनामा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

खुम्बू विद्युत् कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । शुक्रबार थामेबाट ९ किलोमिटर माथि रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेर थामे खोला (भोटेखोला)मा बाढी आई गाउँ नै बगाएको थियो । थामेखोलाको बाढीले दूधकोसी नदीको तटीय क्षेत्रलाई समेत असर गरेको छ । प्राधिकरणका अनुसार बाढीले सोताङ गाउँपालिका–१ दिप्लिघाटमा भण्डारण गरिएको पुरानो बेलिब्रिजको सामान बगाएको छ भने माप्य दूधकोसी गाउँपालिका–१ अँधेरीस्थित दूधकोसीकै स्टिल ट्रस पुलको एकातिरको भाग भासिँदा आवागमन बन्द भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : ४१ बजे