१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

विदेशी मुद्रा सञ्चितिले नेपालको १३ महिनाको आयात धान्ने



नेपालमा १३ महिना आयत धान्न सक्ने गरी विदेशी मुद्राको सञ्चिति भएको छ । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो ।

यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३५.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०८.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २९.३ प्रतिशत छ । २०८० असार मसान्तमा जीडीपीको अनुपात २८.८ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २५ प्रतिशत थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : १६ बजे