भारतको औपचारिक भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने भएकी छन् । उनले मोदीसँग सोमबार साँझ भेटवार्ता गर्ने छिन् । परराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो ।
मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा गएकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।