राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले उनलाई निस्कासन गरेको हो ।
पार्टीको अनुशासन आयोगले गरेको सिफारिसअनुसार उनलाई हटाइएको बताइएको छ । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो ।
ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरितका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो ।
ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।
ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।