१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

नयाँ सर्वेक्षणले ट्रम्प ह्यारिसभन्दा एक प्रतिशत अगाडि



हालै सार्वजनिक भएको एक नयाँ मत सर्वेक्षणले अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्र्याटहरुको टाउको घुमाएको छ । उक्त सर्वेक्षणले डेमोक्र्याटका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिस् भन्दा रिपब्लिकन पार्टीका उम्मेवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक प्रतिशतले अगाडि देखाएको छ ।

द न्यूयोर्क टाइम्स र सियाना कलेजले सम्भावित मतदाताहरूको नयाँ सर्वेक्षण उपराष्ट्रपति ह्यारिस र पूर्व राष्ट्रपति ट्रम्प बीचको राष्ट्रपतिको दौड लगभग समान रूपमा अघि बढेको देखाएको छ । ट्रम्प ४८ र ह्यारिसले ४७ प्रतिशत सर्वेक्षणमा सहभागी संभावित मतदाताको समर्थन प्राप्त गरेका हुन् । यद्यपी सर्वेक्षणको नतिजा ३ प्रतिशत तलमाथी हुने कुरालाई भने स्वीकार गरिएको छ ।

सर्वेक्षणको नतिजा टाइम्स र सियाना कलेजले गत जुलाइमा गरेको सर्वेक्षणसँग नै मिल्दोजुल्दो छ । उक्त सर्वेक्षणले राष्ट्रपति जो वाइडेनलाई राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिन बाध्य बनाएको थियो भने उपराष्ट्रपति ह्यारिसलाई उनले अघि सारेका थिए ।

स्वीङ स्टेटको रुपमा चिनिएका विस्कन्सिन, मिशिगन, पेन्सिल्भेनिया, नेभाडा, जर्जिया, नर्थ क्यारोलिना र एरिजोना गरी सात राज्यहरुमा ह्यारिस थोरै मात्र अगाडि छिन् । साथै सर्वेक्षण अनुसार २८ प्रतिशत सम्भावित मतदाताले ह्यारिसको बारेमा थप जान्न चाहेको उल्लेख गरेका छन् । तर केवल ९ प्रतिशत मात्र संभावित मतदाताहरुले ट्रम्पको बारेमा थप जान्न खोजिरहेको उल्लेख छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ०८ बजे