१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते प्रस्ताव



स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गर्नका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रस्ताव गरेका हुन् ।

हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् । ती पदहरुमा उपनिर्वाचन गर्नु पर्ने छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावबमोजिम उपनिर्वाचनका लागि सरकार तयार रहेको भन्दै तयारी अगाडि बढाउन आग्रह गरेका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तोक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको बताइएको छ ।

छलफलपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरिएको बताए ।

छलफलमा सरकारकातर्फबाट उपप्रधान एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए भने आयोगका प्रमुख आयुक्त थपलियासहित पदाधिकारीहरू थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ०९ बजे