नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका हुन् ।
‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामीकहाँ उजुरी परेपछि हामीले अहिले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ’ उनले भने ।
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेका थिए । उनले त्यसमा धनराजकोसमेत मिलेमतो रहेको बताउँदै आउका छन् । ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङकी पूर्वपत्नी हुन् । उनीहरुबीच २०७६ सालमा सम्बन्ध विच्छेद भएको बताइएको छ ।