१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस



संबैधानिक परिषद्ले सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । परिषदले सर्वसम्मत निर्णय गरेर राउतलाई सिफारिस गरेको हो ।

न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन्।

संविधानको धारा २८४(३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै परिषदले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका हुन् । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १३ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ५७ बजे