लेबनानमा मङ्गलबार भएको एक श्रृंखलाबद्ध विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । यी विस्फोटहरू मिलिटेन्ट समूह हिजबुल्लाले प्रयोग गरिएका पेजरहरूमा भएका थिए ।
स्थानीय समय अनुसार मङ्गलबार दिउँसो करिब ३:४५ बजे भएका विस्फोटहरू बेरुत र अन्य क्षेत्रहरूमा फैलिएका थिए, जसले गर्दा ठूलो आपतकालिन अवस्था सृजना भएको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार विस्फोटहरू प्रविधिको प्रयोग गरेर गरिएको आक्रमण जस्ता देखिएका छन् । प्रत्यक्षदर्शीहरूले विस्फोट हुनुअघि मानिसहरूको खल्तीबाट धुवाँ निस्किरहेको र पटका वा गोलीका आवाज जस्तै आवाज आएको बताएका छन् । हिजबुल्ला समूहलाई सञ्चारको प्रयोगमा सुरक्षित मानिने गरेको थियो । तर यस आक्रमणले उसको त्यो प्रतिष्ठाको अन्त्य गराइ दिइको छ । केही विशेषज्ञहरूले पेजरको ब्याट्रीलाई अत्यन्त तातो हुने गरी आक्रमण गरि बिष्फोट गराइएको हुन सक्ने बताएका छन् भने अरुहरूले निर्माण वा ढुवानीको क्रममा गरिएको गल्ती कारण विष्फोट भएको हुन सक्ने पनि बताएका छन् ।
हिजबुल्लाले फोनमा लोकेशन ट्र्याक गरेर इजराइलले आफ्ना नेताहरुलाई आक्रमण गर्न थालेपछि मोवाइल फोनको सट्ट पेजरको प्रयोग गर्न थालेको थियो । पेजरमा वाइरलेस ढंगले सन्देश पठाउन र प्राप्त गर्न सकिन्छ ।
मारिएका मध्ये दुई जना हिजबुल्ला सांसदका छोराछोरी भएको बताइएको छ भने इरानको लेबनानस्थित राजदूतलाई सामान्य चोट लागेको बताइएको छ । लेबनानी स्वास्थ्यमन्त्रीले अधिकांश घाइतेहरुको अनुहार र हातमा गम्भीर क्षति भएको बताएका छन्, केही पीडितहरू अंगभंग भएको बताइएको छ ।
यद्यपि हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन, हिजबुल्लाले इजरायललाई दोष लगाएको छ, यसलाई नागरिक लक्षित “अपराधी आक्रमण” भनेको छ । इजरायली अधिकारीहरूले अझै टिप्पणी गरेका छैनन्, यद्यपि धेरै विश्लेषकहरूले इजरायलको संलग्नता सम्भव छ भन्ने विश्वास गर्छन्, इजराइलले शत्रुलाई ट्र्याक गरी आक्रमण गर्न प्रविधि प्रयोग गर्ने गरेको इतिहास छ ।
विस्फोटहरूले हिजबुल्लाको मनोबल र जनशक्तिमा ठूलो धक्का दिएको छ, साथै इजरायलसँगको बढ्दो द्वन्द्वको डर पैदा गरेको छ । इरानसँगको गठबन्धनमा रहेको यो बिद्रोही समूहले पछिल्ला महिनाहरूमा सीमा पार गरेर इजरायलमाथि रकेटहरु आक्रमण गर्दै आउको छ ।