प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शुक्रबार अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार उनको भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेछन् । महासभामा उपस्थित भएका विदेशी पाहुनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने भोजमा पनि उनी सहभागी हुनेछन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले नै आयोजना गर्ने ‘फ्युचर समिट’ लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार सेप्टेम्बर २३ मा उनले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालयमा ‘लोकतन्त्र र आर्थिक समृद्धितिर नेपालको यात्रा’ विषयमा सम्बोधनसमेत गर्नेछन् ।
त्यस्तै अर्को अमेरिकी विश्वविद्यालय हार्वर्डमा पनि प्रधानमन्त्री ओलीले ‘नेपालको दृष्टिकोणः संक्रमणकालीन न्यायदेखि वातावरण न्यायसम्म’ विषयमा सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय बैठक गर्ने ओलीले महासभाको साइडलाइनमा अन्य उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत २२ सदस्य हुनेछन् ।