२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

बाढी पहिरोबाट देशभर कम्तीमा ५० जनाको मृत्यु, उपत्यकामा मात्र ३४ को ज्यान गयो



अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसोसम्ममा कम्तीमा ५० जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता रहेको बताइएको छ ।
बाढी पिहरोमा परेकाहरुको उद्दारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् । प्रमुख राजमार्गहरुमा बाढी पहिरोले क्षती पुर्याएको कारण प्रमुख चाड दशैंको मुखैमा आएर राजमार्गहरु अबरुद्ध बनेको छ ।

राससका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको पुष्टी भएको छ । बाढीले हजारौं घर डुवानमा पारेको छ भने लाखौंलाई प्रभावित बनाएको छ ।

काठमाडौंमा ३४ को मृत्यु

अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका १ हजार ३ सय १५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा दुई हजार २ सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।

यसैबीच अविरल वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय भएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्नब्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ०७ बजे