२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

विपद् अपडेट : मृतकको संख्या ८७ पुग्यो, उपत्याकामा मात्र ४८ ले ज्यान गुमाए



पछिल्लो तीन दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ८७ जना पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार ८७ जनाको मृत्यु पुष्टि भएको छ भने ७२ जना बेपत्ता रहेका छन् । अरु ३६ जना घाइते छन् ।

उनले काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएकोमा काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको बताए । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।

धादिङमा पुरिएको माईक्रोबाट १४ शव निकालियो
काठमाडौं र धादिङको सीमामा रहेको झ्याप्लेखोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले एक यात्रुवहाक माइक्रो बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको हो ।
प्रहरीका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा सवार १४ जनको शव निकालिएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ५० बजे