बाढी पहिरो कारण धेरै जसो राजमार्गहरु अबरुद्ध भएकाले चाडपर्वको बेला हवाई सेवा प्रदायकले सेवा समय विस्तार गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चाडवाडका बेला बढेको हवाई चापलाई सम्बोधन गर्नका लागि काठमाडौंसहित सुगम विमानस्थलहरु बिहान ४ : ३० बजेदेखि खुला रहने छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले यो नियम घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने बताए । विहान साढे बजेदेखि नै खुला रहने विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।
अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म हुन्थ्यो । तर, बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् । काठमाडौं विमानस्थलका अनुसार मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए । यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले ओहोदोहोर गरेका थिए ।
मंगलबार अन्तिम उडान भैरहवाबाट यति एयरलायन्सको राति २:४० बजे काठमाडौंका लागि भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरु अहिले बिहान ६ बजेदेखि राति २ बजेसम्म हुने गरेका छन् ।