सहकारीको रकम अपचलन गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीले लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारीको बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । रास्वपा केन्द्रीय कार्यालय च:मतिमा सभापति लामिछानेसहित पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू र कार्यकर्ताहरूको ठूलो संख्यामा भेला भएका छन् ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानविन गर्न बनेको संसदीय छानबिन समितिले उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएको बेला विभिन्न सहकारीबाट ६२ करोड रुपैयाँ रकम आएको र त्यसको खर्च उनैले हस्ताक्षर गरेर गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक तथा १५ प्रतिशत शेयर होल्डरको रुपमा उनको जिम्मेवारी हुने भन्दै कारवाहीको सिफारिस गरेको थियो ।
लामिछानेले भने सहकारीबाट रकम ल्याउने कार्यमा आफु संलग्न नरहेको र उक्त रकम कहाँबाट ल्याइयो भन्ने सम्बन्धमा आफुलाई थाहा नभएको बताउँदै आएका छन् ।
गृहमन्त्री रमेश लेखकले गत असोज ६ गते सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन बोर्ड सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाइलाई पक्राउ गरेर कास्की लगेको थियो ।
प्रतिपक्षी बैठकमा उठेको थियो कुरा
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो ।
उक्त बैठकमा दाहालले ‘अहिले रविजीको पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ । मिडियामा पनि बाहिर पनि कुरा सुनिन्छ’ भनेका थिए । साथै बैठकका सहभागीहरुले राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई पनि पक्राउ गर्न नहुने धारणा राखेको बताइएको थियो ।
बैठकबाटै दाहालले प्रधानमन्त्री ओलीलाई फोन गरेर यस विषयमा सोधेको र ओलीले कानुन अनुसार हुने भनेर जवाफ दिएको पनि बताइएको छ ।
पार्टी कार्यालयमा भीड
अध्यक्ष लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पछि नेता तथा समर्थकहरू पार्टी कार्यालयमा भेला भएका छन् । सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन् ।
यसअघि गोर्खा मिडियाका सञ्चालक मध्येका एकम छवि जोशी पक्राउ परेको दिन पनि रास्वपाका नेता कार्यकर्ता अध्यक्ष लामिछानेलाई पक्राउ गर्न सकिने भन्दै पार्टी कार्यालयमा भेला भएका थिए । लामिछानेले उक्त दिन प्रतिकार गर्न समेत आग्रह गरेका थिए ।