अमेरिकामा राष्ट्रपति चुनाव अझै दुई हप्ता बाँकी छ, राष्ट्रपतिका दुई प्रमुख दावेदारहरु कमला ह्यारिस र डोनाल्ड ट्रम्पले अन्तिम समयको चुनावी अभियानलाई तिक्रता दिइरहेका छन् । तर लाखौं अमेरिकीहरुले भने पहिल्यै मतदान गरिसकेका छन् ।
फ्लोरिडा विश्वविद्यालयले सञ्चालन गरेको एक ट्र्याकरका अनुसार, हालसम्म १ करोड ७० लाखभन्दा बढी मानिसहरूले प्रारम्भिक मतदान गरिसकेका छन् । यसमा धेरैजसो राज्यहरूमा प्रारम्भिक मतदान खुला गरिए अनुसार मतदान गरिएका हुन् । प्रारम्भिक मतदान गर्नेमा डेमोक्र्याट्स र वृद्ध व्यक्तिहरू बढी देखिएका छन्, जसले व्यक्तिगत रूपमा वा हुलाकबाट आफ्नो मत दिएका छन् ।
सन् २०२० मा कोरोना महामारीका कारण प्रारम्भिक मतदानको संख्या निकै बढेको थियो । त्यसपछि, जो बाइडेनको विजयपछि डोनाल्ड ट्रम्पले हुलाकमार्फत भएका मतदानमा व्यापक धाँधली भएको दाबी गरेका थिए, जसको कुनै प्रमाण भने प्रस्तुत गर्न सकेनन् । ५ नोभेम्बरको मतदानको दिन नजिकिँदै गर्दा उम्मेदवारहरू भने अनिर्णीत मतदातालाई आफ्नो पक्षमा तान्नका लागि स्वीङ स्टेट भनेर चिनिने राज्यका अनिर्णत मतादाताहरु समक्ष अन्तिम प्रयास गर्दैछन् ।
चुनावी दिन आउन दुई हप्तामात्र बाँकी रहँदा चुनावी अभियान अत्यन्तै चर्को र महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । कमला ह्यारिसले सोमबार प्रमुख निर्णायक राज्यहरूको भ्रमण गरिन्, जहाँ उनले रिपब्लिकन पार्टीका पूर्व सांसद लिज चेनी पनि सँग थिइन् । चेनी ट्रम्पको कडा आलोचक मध्येकी हुन् । ह्यारिसले ट्रम्पबाट निराश भएका रिपब्लिकन मतदातालाई पार्टी परिवर्तन गर्न आग्रह गर्दै भनिन्, “तपाईंहरू एक्लो हुनुहुन्न ।”
त्यस्तै, ट्रम्पले पनि उत्तरी क्यारोलिनामा इभान्जेलिकल क्रिस्चियनहरूको एउटा समूहलाई सम्बोधन गरे, जुन राज्य चुनावमा दुवै पार्टीतर्फ जान सक्ने सम्भावित राज्यको रुपमा लिइएको छ । ट्रम्पले आफूलाई जुलाईमा हत्या गर्ने प्रयास भएको उल्लेख गर्दै “एक अदृश्य शक्तिले” आफुलाई बचाएको दाबी गरेका छन् ।
जनमत सर्वेक्षणहरुले ह्यारिस र ट्रम्पबीचको चुनावी दौड निकै निक्कै प्रतिस्पर्धात्मक देखाएको छ । यसले पनि दुवै पक्षलाई चुनावी अभियानको नजिक थप दौडधुप गर्नु पर्ने अवस्था आएको छ ।