मेगाडोनर भनेर चिनिने अर्बपतिहरुको प्रभाव अमेरिकी राष्ट्रपतीय चुनावमा रहँदै आएको छ । दुई साताभन्दा कम समय रहेको २०२४ को चुनावलाई पनि अर्बपतिहरुको चलखेलले चर्चित बनाएको छ ।
अनुसन्धान समूह ओपनसिक्रेट्सले गत साता सार्वजनिक गरेको विश्लेषण अनुसार २०२४ को चुनावी दौडमा हालसम्मकै सबैभन्दा महँगो संघीय चुनाव हुने अनुमान गरिएको छ । यसमा प्रमुख भूमिका विश्वकै धनी मानिस एलोन मास्कले प्रमुख भूमिका खेलेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेगाडोनरको रुपमा चिनिएका मस्कले गत शनिबारदेखि दैनिक एक जना समर्थकलाई एक मिलियन अमेरिकी डलर दिनसमेत सुरु गरेका छन् । यो चुनावको दिन नोभेम्र ९ सम्म जारी रहने उनले बताएका छन् ।
त्यसो त डेमोक्र्याटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसका सहयोगीहरु पनि कम छैनन् । राष्ट्रपति जो बाइडेन पछि हटेर उपराष्ट्रपति ह्यारिसको डेमोक्र्याटको उम्मेदबार चयन भएपछि “धेरै ठूलो कोष संकलनको वृद्धि” भएको बताइएको छ ।
ह्यारिसको अभियानले संकलन गरेको कोष मेगाडोनरहरुको तर्फबाट भन्दा पनि सर्वसाधारण चन्दादाताहरुबाट संकलन भएको बताइन्छ । उनले अभियानले जुलाईमा सुरु भएदेखि १ अर्ब डलरभन्दा बढी रकम संकलन गरेको विभिन्न रिपोर्टहरुले पुष्टि गरेका छन् । वाशिंगटन पोस्टको समाचार अनुसार शीर्ष ५० मेगाडोनरहरू मध्ये धेरैजसो रिपब्लिकन छन् । यस्ता छन्, २०२४ sJ राष्ट्रपतीय दौडलाई प्रभावित गर्ने मेगाडोनरहरू:
एलोन मस्क
टेस्लाका सीईओ एलोन मस्क नयाँ रिपब्लिकन मेगाडोनरमध्ये एक हुन् । उनले ट्रम्पलाई समर्थन गर्ने आफ्नो पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका छन् । मस्क रिपब्लिकन राजनीतिमा बढ्दो प्रभावशाली व्यक्तित्व बन्दै गएका छन् र आफ्नो एक्स (पूर्वमा ट्विटर) खातामा रिपबलिकनले उठाएका आप्रवासन र ट्रान्सजेन्डर मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गर्छन् । मस्कले ट्रम्पलाई जुलाईमा भएको पहिलो हत्या प्रयासपछि समर्थन गरेका थिए र यस महिनाको सुरुमा ट्रम्पको र्यालीमा उपस्थित भएका थिए ।
टिमोथी मेलोन
अर्बपति व्यवसायी टिमोथी मेलोन ट्रम्पका प्रमुख समर्थकहरू मध्ये एक हुन्, जसले ओपनसिक्रेट्सका अनुसार ट्रम्पको समर्थन गर्ने सुपर पीएसी ‘मेक अमेरिका ग्रेट अगेन’ लाई यस चुनावी चक्रमा १२५ मिलियन डलर दिएकाछन्, ।
मिरियम एडेलसन
क्यासिनो व्यवसायी शेल्डन एडेलसनकी विधवा मिरियम एडेलसन, जो इजराइलको कडा समर्थक हुन्, उनले फेडरल इलेक्शन कमिसन फाइलिंगअनुसार यस वर्षको तेस्रो त्रैमासिकमा आफ्नो ट्रम्प समर्थक पीएसी ‘प्रिजर्भ अमेरिका’ लाई ९५ मिलियन डलर दिएकी छन् । यस वर्षको गर्मीमा ट्रम्पले एडेलसनलाई ‘प्रिजर्भ अमेरिका’ पीएसीको सञ्चालनको बारेमा आलोचना गरेका थिए, तर अन्ततः उनीहरूले आफ्नो मतभेद मिलाए र एन्टीसेमिटिजमविरुद्धको कार्यक्रममा एकसाथ उपस्थित भए । एडेलसन र उनका दिवंगत पति ट्रम्पका २०२० मा सबैभन्दा ठूला डोनर थिए ।
डिक र लिज उह्लिन
शिपिङ कम्पनी यूलाइनका संस्थापक उह्लिन दम्पतीले २०२४ मा आफ्ना कन्जरभेटिभ ‘रिस्टोरेसन पीएसी’ मा ४९ मिलियन डलर खर्च गरेका छन् । रिस्टोरेसन पीएसीले तेस्रो त्रैमासिकमा कन्जरभेटिभ समूहहरूलाई १९.५ मिलियन डलर भन्दा बढी योगदान गरेको छ, जसमा ‘मम्स फर लिबर्टी’ पनि सामेल छ, जसले विद्यालयको पाठ्यक्रम वा सामग्रीमा जात, लिंग र यौनिकताको चर्चा घटाउन खोज्छ, र एन्टी-एबोर्सन ‘वुमन स्पिक आउट पीएसी’ लाई उनीहरुले सहयोग गरेका छन् । उह्लिन दम्पतीले ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन’ सुपर पीएसीलाई १० मिलियन डलर दिएका छन् ।
माइक ब्लूमबर्ग
पोलिटिकोका अनुसार अर्बपति माइक ब्लूमबर्गले यस चुनावी प्रतिस्पर्धामा कमला ह्यारिसको अभियानलाई समर्थन गर्ने ‘फ्यूचर फर्वार्ड’ सुपर पीएसीलाई १९ मिलियन डलर दिएका छन् । उनले ‘एभ्रिटाउन फर गन सेफ्टी’ सँग सम्बन्धित एक सुपर पीएसीलाई ७ मिलियन डलर र हाउस डेमोक्र्याटहरूको समर्थन गर्ने ‘हाउस म्याजोरिटी पीएसी’ लाई १० मिलियन डलर दिएका छन् ।
रिड हफम्यान र मिशेल यी
लिंक्डइनका सह-संस्थापक रिड हफम्यान र उनकी पत्नी मिशेल यी डेमोक्र्याटिक पार्टिका दाताहरूमा प्रमुख छन् । उनीहरूले ह्यारिसको अभियानलाई समर्थन गर्ने ‘फ्यूचर फर्वार्ड पीएसी’ लाई १० मिलियन डलर दिएका छन् । उनीहरूले एन्टी-ट्रम्प ‘रिपब्लिकन एकाउन्टेबिलिटी पीएसी’ लाई ६ मिलियन डलर र लेफ्ट वीङ सुपर पीएसी ‘वन फर अल कमिटी’ लाई दुई मिलियन डलर भन्दा बढी सहयोग गरेका छन् ।