१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार: फरक दृष्ट्रिकोण, फरक पृष्ठभूमि



अमेरिकी राष्ट्रपतय चुनाव नजिकिंदै गर्दा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । डेकोक्र्याट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा एकदम नजिक रहेकाले पनि थप रोचक बनाएको छ । सञ्चार माध्यमहरुले उनीहरुबीचको राजनीतिक बैचारिक मतभिन्नताको मात्र होइन, व्यक्तिगत जीवनका फरक पृष्ठभूमिको पनि रोचक समाचार कथाहरु प्रकाशित गरेका छन् ।
यहाँ अमेरिकी सञ्चार माध्यमहरुका आधारमा ह्यारिस र ट्रम्पको पृष्ठभूमिमा रहेको फरक प्रस्तुत गरिएको छ । यसले उनीहरुबीचको बैचारिक मतभिन्नतालाई कसरी आकार ग्रहण गर्यो भन्ने कुरालाई पनि संकेत गर्दछ ।

बाल्यकाल र प्रारम्भिक जीवन

ह्यारिस र ट्रम्पका प्रारम्भिक जीवनले उनीहरू फरक तरिकाले हुर्किएको र त्यही अनुरुपका मुल्यमान्यता विकास भएको झलक दिन्छ । ट्रम्पको बाल्यकाल न्यूयोर्कको क्विन्समा बित्यो, जहाँ उनलाई १३ वर्षको उमेरमा न्यूयोर्क मिलिटरी एकेडेमीमा भर्ना गरियो । पाँच वर्षको यो सैन्य प्रशिक्षणले ट्रम्पलाई नेतृत्वको कठोर अनुशासन र नियमहरू सिकायो । ह्यारिसले भने आफ्नो प्रारम्भिक जीवन क्यालिफोर्नियाको ओकल्यान्डमा बिताइन्, जहाँ उनकी आमा, एक भारतीय क्यान्सर अनुसन्धानकर्ता, समाजसेवी र नागरिक अधिकार आन्दोलनप्रति समर्पित व्यक्तिको रुपमा परिचित थिइन् । ह्यारिस बाल्यकालदेखि नै सामाजिक न्याय र नागरिक अधिकारहरूको महत्त्व बुझेर हुर्किइन् ।

शिक्षा र करियर

ह्यारिसले हावर्ड विश्वविद्यालयबाट स्नातक गरिन्, जहाँ उनले नागरिक अधिकार आन्दोलनका बारेमा गहिरो बुझाइ हासिल गरिन् । उनले समाज सेवा गर्ने अठोटसहित आफ्नो कानूनी करियर सुरु गरिन् । ट्रम्पले भने पेनसिल्भानिया विश्वविद्यालयको वार्टन स्कूलबाट व्यापार प्रशासनमा स्नातक गरेपछि पारिवारिक व्यवसायमा नेतृत्व लिए ।

राजनीतिक यात्रा

ह्यारिसले क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रूपमा आफ्नो राजनीतिक करियरलाई सुरु गरिन् । यस भूमिकाबाटै उनी २०१६ मा अमेरिकी सिनेटमा पुगिन् । ट्रम्पले भने सन् २०१६ मा हिलरी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी राष्ट्रपतिको पद हाँसिल गरेर विश्वलाई चकित पारे । ह्यारिस २०२० मा जो बाइडेनको उपराष्ट्रपति उम्मेदवारको रूपमा अगाडि बढिन् र बाइडेन-ह्यारिसको जोडीले ट्रम्प-पेन्स जोडीलाई पराजित गर्यो ।

पारिवारिक जीवन

ह्यारिसको परिवारमा पति डग इमहोफ र उनका दुई सन्तान छन्, जसलाई उनले ‘ममाला’ भनेर सम्बोधन गर्छिन् । ट्रम्पको परिवारमा तीन श्रीमतीहरूबाट पाँच सन्तान छन्, जसले उनको राजनीतिक यात्रामा विभिन्न भूमिकाहरू खेलेका छन् ।

राजनीतिक दृष्टिकोण र प्रभाव

ह्यारिसलाई नागरिक अधिकार र महिला अधिकारको प्रबल समर्थन गर्ने नेतृका रूपमा चिनिन्छन् । उनले गर्भपतन अधिकारको पक्षमा आवाज उठाउँदै अमेरिकी महिलाहरूको अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् । उता, ट्रम्पले परम्परागत रूपमा अमेरिका केन्द्रित नीति अपनाए, जसमा जलवायु सम्झौताबाट बाहिरिने र आप्रवासनमा कडाई गर्ने निर्णय पनि पर्दछन् ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय मुद्दामा दृष्टिकोण

ह्यारिसको विदेश भ्रमणहरूमा अमेरिका-मेक्सिको सीमा समस्या समाधानका लागि ग्वाटेमालामा गरिएको भ्रमण महत्वपूर्ण रह्यो । उनको कार्यकालमा युक्रेन र गाजा युद्धका साथै अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता जस्ता चुनौतीपूर्ण कार्यहरु परे । ट्रम्पको पहिलो अन्तर्राष्ट्रिय भ्रमण भने साउदी अरेबियामा भयो, जहाँ उनले अमेरिकी उद्योग र व्यापारलाई प्राथमिकता दिँदै अमेरिका केन्द्रित नीतिलाई बढावा दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ११ : ५४ बजे