२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

फिवनाको देउसीभैलि तथा राफल कार्यक्रम सम्पन्न



नेपाल आदिवासी जनजाति महिला  महासंघ अमेरिका (फिवना) को बार्षिक देउसीभैलि तथा राफल कार्यक्रम सम्पन्न भएको छ ।

स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान् चाड तिहारको अवसरमा देउसीभैलि कार्यक्रमको आयोजना गर्दै आएको छ भने गतबर्षदेखि सोही अवसरमा राफल चिट्ठाको पनि आयोजना गर्दै आएको छ । दुई चरणमा बिभाजित उक्त कार्यक्रममा प्रथम चरण औपचारिक देउसीभैलि रहेको थियो भने दोस्रो चरणमा नाचगान र राफलको कार्यक्रम रहेको थियो ।

औपचारिक कार्यक्रमको  चरणमा उपस्थितहरूको प्रतिनिधित्व गर्दै  शुभकामाना मन्तब्यको क्रममा सामाजिक अभियान्ता तथा  युनाइटेड किराँत राई अर्गनाइजेसनका उपाध्यक्ष केशबराम राईले फिवनाले अमेरिकाको स्थानीय सरकारहरूसॅग पनि सहकार्य र सम्बन्धलाई मजबुद बनाउॅदै सशक्तरूपमा अघि बढ्नुपर्ने सुझाब दिए । फिवनाको स्थापनाकालदेखिको इतिहास सम्झॅदै उनले भने “हिजो दुई तीन जना दिदीबहिनीले सुरू गरेको संस्था फिवनाले यतिधेरै रचनात्मक कामहरू गर्दै आएकोमा गर्व लागेको छ, यद्यपि अझैपनि नेपाली महिलाहरूलाई सशक्त गर्नुपर्ने बिभिन्न कार्यक्रमहरू रहेका छन्, जस्तै अमेरिकन राजनीतिमा पनि महिलाहरू अब तयार हुनुपर्छ र त्यसका लागि  सशक्तिकरणको काम फिवनाले गर्नको लागि मेरो सुझाब छ ।“

महासचिब इन्दु लामाछानेले संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी सदस्य सरस्वती तामाङले कार्यक्रममा उपस्थित बिभिन्न सॅघसॅस्थाका प्रतिनिधीहरूलगायत सम्पूर्ण उपस्थितलाई स्वागग गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि सबैभन्दा पाको उमेरकी आमा पृथ्बीलक्ष्मी राई रहेकी थिइन् । औपचारिक कार्यक्रमको अन्त्य गर्दै सम्पूर्णलाई धन्यबाद दिने  क्रममा अध्यक्ष इन्दिरा चोङबाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन् र फिवनाले चाहेर  पनि महिला भएकै कारण बिभिन्न चुनौतिहरू सामाना गर्नु परेकोले अन्य बिबिध गतिबिधिहरूमा कमी रहेको जावकारी दिइन् । मन्तब्यकै क्रममा अध्यक्ष चोङबाङले बिभिन्न शुभचिन्तकहरूबाट प्राप्त भएको दक्षिणा रकमलगायत बिभिन्न माध्यमबाट सॅस्थाले संकलन गरेको रकमहरू सॅस्थाको हितमा र महिलाहरूको आपतकालिन समयलगायत मातृभूमि नेपालमा पनि बिभिन्न समयमा सहयोग गर्दै आएको अवगत गराइन् ।

औपचारिक कार्यक्रमको अन्तपछि मातृभूमिको सम्झना ताजा गराउने परम्परागत शैलिमा देउसीभैलिसॅगै नाचगान भएको थियो । कार्यक्रमको अन्तिम आकर्षककारूपमा रहेको राफलमा प्रथम पुरस्कार iPhone 16 सामाजिक अभियान्ता केशबराम राईलाई परेको थियो भने उनले उक्त पुरस्कार प्रमुख अतिथि पृथ्बी लक्ष्मी राईलाई उपहारस्वरूप हस्तान्तरण गरे । अन्य पुरस्कारहरूमा दोस्रो पुरस्कार नगद २ सय डलर र तेस्रो पुरस्कार चार जनालाई पचास पचास डलर नगद रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : १८ बजे