यस वर्षको अमेरिकी राष्ट्रपतीय चुनावका सबै मतदान केन्द्रहरू बन्द भइसकेका छन् । नेभेम्बर ५ को चुनावमा अन्तिममा अलास्का र हवाईमा मतदान केन्द्रहरुमा मतदान समाप्त भएका हुन् ।
मध्यरातका साढे ११ बजेसम्मको चुनाव मत परिणामको प्रक्षेपण अनुसार रिपब्लिकन डोनाल्ड ट्रम्पले २४६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् भने डेमोक्र्याट कमला ह्यारिसले १८७ पाएका छन् । ह्वाइट हाउस पुग्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
हालसम्म, दुई निर्णायक राज्यमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको नर्थ क्यारोलिना र जर्जिया दुवै राज्यमा उनले जीतको झण्डा गाडेका छन् । अझै पाँच अन्य निर्णायक राज्यहरूको नतिजा आउन बाँकी छ, यद्यपि प्रारम्भिक प्रक्षेपणहरूले यी सबैमा ट्रम्प अगाडि रहेको संकेत गर्छ । यी त्यस्ता क्षेत्रहरू हुन् जहाँ ह्यारिस र ट्रम्प दुबैको सम्भावित जितका लागि महत्वपूर्ण रहेको विश्वास गरिन्छ ।
बीबीसीका अनुसार मिशिगनमा डेमोक्र्याटिक दाताहरू र रणनीतिकारहरूले आफूहरू “निकै निराश” रहेको बताएका छन् । यसैबीच, फ्लोरिडामा रहेका नाडा तव्फिकले ट्रम्पको शिविरमा “उत्साह र उद्देश्य” रहेको उल्लेख गरेका छन् ।