अन्तत् डोनाल्ड ट्रम्पले अन्तिम स्वीङ स्टेट एरिजोनामा पनि जित हात पारेको छ । उनलाई एरिजोनाले ११ इलेक्टोरल मत प्रदान गरेको छ । सन् २०२० को निर्वाचनमा एरिजोना जो वाइडेनले जितेको थियो ।
एसोसिएटेड प्रेसका अनुसार शनिबार राति घोषित यो नतिजासँगै ट्रम्पको अन्तिम इलेक्टोरल कलेज मत संख्या ३१२ पुगेको छ । स्वीङ स्टेटको रुपमा मानिने महत्वपूर्ण सातवटै राज्यहरूमा ट्रम्पले विजयको झण्डा फहराएका छन् ।
एरिजोनामा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय हासिल गर्दै, ट्रम्पले राज्यको परम्परागत रूढीवादी पहिचान पुन: स्थापित गरेका छन् । १९४० पछि एरिजोनाले केवल दुई पटक मात्र डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेको थियो, जसमा सन् २०२० मा जो बाइडेनले झिनो अन्तरले ट्रम्पलाई हराएका थिए ।
यस वर्ष, डेमोक्रेटहरू सुरुदेखि नै एरिजोनामा कठिन प्रतिस्पर्धामा रहेको देखिन्थ्यो । सिमानामा रहेका यो राज्यका मतदाताहरू आप्रवासी संकट र आवास खर्च, किराना, पेट्रोलियमको बढ्दो मूल्यहरू जस्ता आर्थिक समस्याप्रति चिन्तित देखिन्थे ।
एरिजोनामा रिपब्लिकन मतदाताहरूको संख्याले डेमोक्रेटहरूलाई उछिनेको हुँदा, ह्यारिसलाई स्वतन्त्र र मध्यमार्गी रिपब्लिकन मतदाताहरूलाई आफ्नो पक्षमा तान्नुपर्ने चुनौती थियो । फिनिक्स उपनगरका स्वतन्त्र मतदाताहरू, विशेष गरी गोरा महिलाहरूले वामपन्थतर्फ ढल्किरहेको संकेत देखाएका थिए, र प्रजनन अधिकारको रक्षा तथा ट्रम्पलाई अर्को कार्यकाल दिन नचाहने कारणले तिनीहरूलाई प्रेरित गर्ने डेमोक्रेटहरूको आशा थियो ।
तर अन्ततः, ट्रम्पले रिपब्लिकन मतदातालाई एकताबद्ध राख्न र स्वतन्त्र मतदाताको साथ पाउन सफल भए । विभिन्न सर्वेक्षणहरूले लामो समयदेखि ट्रम्पले ल्याटिनो मतदाताहरूमा समर्थन बढाइरहेको संकेत दिएको थियो ।
ह्यारिसको अभियानले एरिजोनामा सशक्त अभियान चलाएको थियो । जसमा विभिन्न समूहहरूको सहयोगमा घर-घरमा पुग्ने र मतदातालाई मतदान गर्न प्रोत्साहित गर्ने काम गरिरहेको थियो । ट्रम्पको अभियान भने मुख्य रूपमा बाह्य समितिहरूमा भर परिरहेको थियो, जसले रिपब्लिकनहरूका लागि नयाँ रणनीति थियो ।
यद्यपि, ‘टर्निङ पोइन्ट’ जस्ता रूढीवादी समूहहरूले यस वर्ष ग्रीष्मदेखि नै मतदाताका घरमा पुगेर रूढीवादी मतदातालाई पहिले नै मतदान गर्न प्रोत्साहित गरेका थिए । यो २०२० भन्दा फरक थियो, जब ट्रम्पले प्रारम्भिक मतदानलाई नकारात्मक रूपमा चित्रण गरेका थिए । रिपब्लिकनहरू यस वर्ष एरिजोनाको प्रारम्भिक मतदान सङ्ख्याबाट हौसिएका थिए ।