१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो, नारावाजी गर्ने ७ जना पक्राउ



सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणबिरुद्ध अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार पुन: पोखरा ल्याइएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी अभियोगमा बयानका लागि रुपन्देही लगिएको थियो । तीन दिन वयान लिएपछि उनलाई फेरी पोखरा नै फर्काइएको हो । बिहीबार बयान सकिएपछि लामिछानेलाई शुक्रबार दिउँसो १ :३० बजे यति एअरलाइन्सको विमानबाट पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई पोखरा फर्काउने क्रममा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन् । रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन् ।

निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : २१ बजे