१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

किन दियो अमेरिकाले लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न युक्रेनलाई अनुमति?



दुई महिना पछि पदबाट बाहिरिंदै गरेका अमेरिकाी राष्ट्रपति जो बाइडेनले आफ्नो युक्रेन नीति परिवर्त ल्याउँदै रसियासँगको युद्धमा लामो दूरीका क्षेप्यास्त्रहरु प्रयोग गर्न अनुमति दिएको छ । यसबाट युक्रेनी राष्ट्रपति भोलोदिमिर लेलेन्स्की उत्साहित छन् भने कतिपयले युद्ध बिस्तार हुने चिन्ता पनि व्यक्त गरेका छन् ।

अहिले युक्रेनमा अमेरिकामा बनेका तीन सय किलोमिटरसम्म मार हान्न सक्ने एटीएअएमएस क्षेप्यास्त्रहरु रहेपनि अमेरिकी प्रशासनले त्यसको प्रयोगमा रोक लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ती क्षेप्यास्त्रहरु प्रयोग गरिए नाटो युद्धमा सहभागी भएको मानिने र त्यसले युद्धलाई अर्को चरणमा लैजाने धम्की दिंदै आएको छ । उनकै धम्कीका कारण महिनौंदैखि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको मागलाई अस्वीकार गर्दै आएको बाइडेन प्रशासनले अन्त्यमा प्रयोगको अनुमति दिएको हो ।

यसले युक्रेनलाई रुसी क्षेत्रभित्र क्षेप्यास्त्रहरु प्रहार गर्न अनु्मति दिन्छ । अमेरिकी प्रशासनको यो निर्णयसँगै फ्रान्स र बेलायतलाई पनि यो अनुमति दिन दवाव पुग्ने बताइएको छ । अमेरिकाले जस्तै यी दुई देशले पनि आफ्नो देशकमा बनेका क्षेप्यास्त्रहरु रुसी सिमा भित्र प्रहार गर्न प्रतिबन्ध लगाइराखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम दुई महिनामा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू रूस भित्र प्रयोग गर्न अनुमति दिनुको कारण भने हजारौं उत्तर कोरियाली सैनिकहरु रुसको पक्षबाट युक्रेनबिरुद्धको युद्धमा होमिनु रहेको बताइएको छ । पछिल्लो समय उत्तर कोरियाली सैनिकहरु युक्रेनसँगको युद्धको अग्रमोर्चामा खटिएको खबरहरु आइरहेको छ ।

बीबीसीका अनुसार यो अनुमतिसँगै युक्रेनले अब कुर्स्क क्षेत्रमा रहेका रूसी सैन्य अड्डा, आधारभूत संरचना र हतियारका गोदामहरूलाई निशाना बनाउन सक्ने बताइएको छ । यहाँको करिब एक हजार वर्ग किलोमिटर क्षेत्र युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । जहाँ उत्तरकोरियाली सैनिकहरु क्रियाशिल रहेको बताइएको छ ।

विशेषज्ञहरूले भने वाइडेन प्रशासनको यो निर्णय प्रतीकात्मक भएको बताउँछन् । उनीहरुको मतमा यसले रूसको युद्ध खर्चलाई बढाए पनि युद्धको समीकरण नै बदल्न भने सक्ने छैन । यद्यपी यो कदमले बाइडेन प्रशासन युक्रेनलाई सहयोग गर्न दृढ रहेको भने देखाउँछ ।

तर, राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले यस मामिलामा प्रतिक्रिया जनाइ नसके पनि युक्रेनलाई सैन्य सहायता कटौती गर्ने भने उनले यसअघि नै बोल्दै आउका थिए । साथै उनले युद्धलाई आफुले सत्ता संहालेको केही दिनमा नै अन्त्य गरिदिने बताउँदै आएका थिए । ट्रम्पका छोराले भने वाइडेन प्रशासनको यो निर्णयलाघ आफ्नो बाबुको कार्यकाल सुरु हुनुअघि नै “तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास” भनेर आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

रूसी राष्ट्रपति पुटिनले वाइडेन प्रशासनको पछिल्लो निर्णयका बारेमा प्रतिक्रिया दिइसकेका छैनन् । यद्यपी क्रेमलिनका अधिकारीहरुले भने यस कदमलाई गम्भीर चेतावनीका रूपमा लिएको उल्लेख गर्दै पुटिनले यसलाई नेटो राष्ट्रहरूले रूससँग प्रत्यक्ष युद्धमा संलग्न भएको संकेतका रूपमा लिने बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ४६ बजे