१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अनुमति



साइबर क्राइमको आरोपमा पक्राउ परेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

उनलाई मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारीको आरोप लगाएर प्रमाण भन्दै केही कागजपत्रहरु प्रशारणमा ल्याएपछि पक्राउ गरिएको थियो । उनले ओलीको कम्बोडियाको एक टेलिकममा लगानी रहेको भन्दै केही कागजहरु सार्वजनिक गरेका थिए । ३२ अर्व नेपाली रुपैयाँ रहेको भनिएको ती कागजहरु किर्ते जस्तो देखिएको र साइवर क्राइममा थप अनुसन्धान गर्नु पर्ने भन्दै प्रसाइलाई पक्राउ गरिएको हो ।

उनलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले उनलाई साइवर क्राइमका साथै किर्ते, संगठित अपराध तथा सम्पति शुद्धिकरणलगायतका विषयमा पनि अनुसन्धान थाल्ने जनाएको छ । यसअघि पनि उनी साइबर क्राइमकै आरोपमा असोज ६ गते पक्राउ परेर एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी बिरुद्ध त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी एक केन्द्रीय सदस्यले साइबर क्राइममा उजुरी हालेकी थिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : ०० बजे