सहकारी पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि जाहेरी दिएका छन् । साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ता पीडितहरुले गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन् ।
साहराबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको सहकारी छानविन संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन् ।
साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन् ।
यसअघि गत असोज ८ गते प्रहरीले साहरा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको कारोबार के कसरी, को–कोसँग भएको हो सोको विवरण प्राप्त नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको थियो ।