१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

गुगललाई टुक्र्याउने अमेरिकी नियामकद्वारा अदालतमा सिफारिस



अमेरिकी नियामकहरूले गुगलको सर्च इन्जिनको एकाधिकार तोड्न कम्पनीलाई टुक्र्याउन संघीय न्यायाधीशलाई आग्रह गरेका छन् । अमेरिकी न्याय विभागले बुधबार २३ पृष्ठ लामो दस्तावेज दाखिला गर्दै गुगलको क्रोम ब्राउजर बिक्री गर्न र एन्ड्रोइडमा सर्च इन्जिनलाई प्राथमिकता दिने गतिविधि रोक्न सुझाव दिएको हो ।

न्याय विभागले गुगलको अग्रणी क्रोम ब्राउजर बिक्री गर्न सिफारिस गर्दै यसलाई इन्टरनेट पहुँचको महत्वपूर्ण माध्यम मानिएको बताएको छ । ब्राउजर बिक्रीले प्रतिस्पर्धी सर्च इन्जिनहरूलाई उपयोगकर्तासम्म पुग्न सघाउने तर्क त्यसमा गरिएको छ । यद्यपि नियामकहरूले गुगललाई एन्ड्रोइड भने बेच्न सुझाव दिएका छैनन्, उनीहरूले भविष्यमा गुगलको अनियमित गतिविधि देखिएमा स्मार्टफोन अपरेटिङ प्रणालीलाई पनि अलग गर्न सकिने चेतावनी दिएका छन् ।

एपीका अनुसार यो मुद्दाको मुख्य सुनुवाइ सन् २०२४ को अप्रिलमा सुरु हुनेछ । न्यायाधीश अमित मेहताले श्रम दिवसअघि अन्तिम निर्णय दिने योजना बनाएका छन् । मेहताले सिफारिस स्वीकृत गरे, गुगलले १६ वर्ष पुरानो क्रोम ब्राउजरलाई अन्तिम निर्णयको ६ महिनाभित्र बेच्नुपर्नेछ ।

साथै, न्याय विभागले गुगललाई एप्पलजस्ता कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता गरी आफ्नो सर्च इन्जिनलाई डिफल्ट बनाउने कार्य रोक्न माग गरेको छ । युट्युब र एआई प्लेटफर्म ‘जेमिनी’ जस्ता आफ्नै सेवाहरूलाई प्राथमिकता दिन पनि निषेध गरिनेछ ।

गुगलका प्रमुख कानूनी सल्लाहकार केन्ट वाकरले न्याय विभागको प्रस्तावलाई “अत्यधिक हस्तक्षेपकारी” भनेका छन् । वाकरले ब्लग पोस्टमार्फत् यसले व्यक्तिगत गोपनीयता जोखिममा पर्ने र गुगलको एआई नेतृत्वलाई कमजोर पार्ने चेतावनी दिएका छन् ।

यदि प्रस्तावित उपायहरू लागू भए, गुगलको व्यवसायाई (जसले यस वर्ष ३०० अर्ब डलरभन्दा बढी आम्दानी गर्न सक्ने अनुमान छ) ठूलो असर पर्नेछ । यस कानूनी प्रक्रिया अमेरिकामा टेक कम्पनीहरूको शक्ति नियन्त्रण गर्नका लागि एक ठूलो कदम मानिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्याय विभागको नेतृत्व परिवर्तन गरेमा कानूनी रणनीतिमा परिवर्तन आउन सक्ने अनुमान पनि छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ५ : ०९ बजे