अमेरिकी राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले आफुले राष्ट्रपति संहालेको पहिलो दिनमै मेक्सिको, क्यानडा र चीनबाट निर्यात हुने सामानमा भारी शुल्क लगाउने योजना सार्वजनिक गरेका छन् । उनले यस कदमलाई अमेरिका भित्रिने अवैध आप्रवासन र लागू औषध नियन्त्रणका लागि आवश्यक भएको पनि बताएका छन् ।
ट्रम्पले मेक्सिको र क्यानडाले लागू औषध र आप्रवासन समस्यालाई नियन्त्रण नगरेसम्म ती देशबाट निर्यात हुने सामानमा २५ प्रतिशत शुल्क लगाइने बताएका छन् । उनले भनेका छन्, “अब उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने समय आएको छ ।”
उनले चीनबाट निर्यात हुने सामानमा थप १०% शुल्क लगाउने घोषणा गरेका छन् । यसअघिकै कार्यकालमा पनि ट्रम्पले चीनसँगको निर्यातमा कर लगाएका थिए । जो बाइडेनको प्रशासनले पनि त्यसलाई यथावत राखेपछि अहिले नै चीनबाट निर्यात हुने सामानमा भारी शुल्क लाग्दै आएको छ । उनले चीनले फेन्टानिल तस्करी रोक्न नसकेको आरोप लगाउँदै थप शुल्क लगाउने योजना सार्वजनिक गरेका हुन् । ट्रम्पले चीनलाई “सबैभन्दा लाभप्रद राष्ट्र” को व्यापारिक स्थिति अन्त्य गर्ने धम्की पनि दिएका छन् ।
ट्रम्पको उक्त सार्वजनिक नीतिलाई लिएर मेक्सिको, क्यानडा र चीनको कडा आपत्ति जनाएको छ । उनीहरुले यसले व्यापार युद्ध निम्त्याउने उल्लेख गर्दै यसमा कसैको पनि जीत हुने जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले ट्रम्पको निर्णयलाई “सामान्य व्यापारिक गतिविधिमा गम्भीर खतरा” भनेका छन् । उनले भनेका छन्, “एक शुल्कको जवाफमा अर्को शुल्क लगाइनेछ, जसले चारै देशको आर्थिक सम्बन्धलाई जोखिममा पार्न सक्छ ।” शीनबामले मेक्सिकोले पनि अमेरिकी वस्तुहरूमाथि कर लगाउने चेतावनी दिँदै यो कदमले दुई देशका साझा व्यवसायलाई असर गर्ने बताइन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो कदमले दुई देशबीचको व्यापार र सहयोगमा नकारात्मक प्रभाव पार्ने बताए । उनले भने, “सम्बन्धलाई सुधार्न र समस्या समाधान गर्न हामी तयार छौं ।” उनले आफ्नो प्रान्तीय नेताहरूसँग यो विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
क्यानडाका विभिन्न प्रान्तीय नेताहरूले पनि ट्रम्पको योजनाको आलोचना गरेका छन् । ओन्टारियोका प्रिमियर डग फोर्डले भने, “यो निर्णय क्यानडा र अमेरिकाका कामदारहरूका लागि विनाशकारी हुनेछ ।”
चीनको वाशिंगटनस्थित दूतावासका प्रवक्ताले भने यसले व्यापार युद्धको सुरुवात हुने उल्लेख गर्दै भनेका छन्, “व्यापार युद्धमा कोही पनि विजयी हुँदैन ।” चीनले अमेरिकी आरोपहरूको खण्डन गर्दै आपसी व्यापारिक सम्बन्धलाई फाइदाजनक र आवश्यक भनेको छ ।
क्यानडाको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने अमेरिकी व्यापारमा शुल्क लगाउने ट्रम्पको धम्कफसँगै क्यानडाको मुद्रा “लूनी” को मूल्य तीव्र रूपमा घटेको छ । मेक्सिकोको मुद्रा पेसो पनि यस निर्णयले प्रभावित भएको छ । विश्लेषकहरूका अनुसार, ट्रम्पको यस नीतिले व्यापारिक लागत बढाउने, रोजगारी घटाउने र उपभोक्ता मूल्य वृद्धि गर्ने जोखिम छ ।