१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

आफ्नै प्रतिबद्धता तोड्दै बाइडेनले छोरा हन्टरलाई दिए क्षमा



अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार राति आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । यसले हन्टरलाई संघीय बन्दुक र करसम्बन्धी अपराधमा सम्भावित जेल सजायबाट बचाएको छ । यस कदमले बाइडेनको अयस अघिको पारिवारिक सदस्यका लागि राष्ट्रपतिको अधिकार प्रयोग नगर्ने प्रतिबद्धतालाई तोडेको छ ।

यो निर्णय हन्टरको सजाय घोषणा हुनु केही साताअघि र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनु दुई महिना अघि आएको छ । आइतबार प्रकाशित बयानमा बाइडेनले भनेका छन्, “म न्याय प्रणालीमा विश्वास गर्छु, तर यस मामिलामा राजनीति हावी भएको छ, जसले न्यायको उल्लंघन गर्‍यो ।”

बाइडेनले यसअघि बारम्बार छोरा हन्टरलाई क्षमा नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले २०२४ जुनमा भनेका थिए, “म अदालतको निर्णयलाई मान्छु, र मैले क्षमा गर्नेछैन ।” नोभेम्बरमा समेत ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन-पियरेले बाइडेनको अडानलाई पुनः पुष्टि गर्दै क्षमाको सम्भावना अस्वीकार गरेकी थिइन् ।

तर आइतबारको माफीले यो प्रतिबद्धताबाट बाइडेन पछि हटेको देखिएको छ । रिपब्लिकनहरूले यस कदमको आलोचना गर्दै बाइडेनमाथि पारदर्शिता र कानूनी प्रक्रियाप्रतिको सम्मान भंग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाका सदस्य जेम्स कोमरले यस माफीलाई “उत्तरदायित्वबाट बच्ने” प्रयास भनेर टिप्पणी गरे ।

हन्टर बाइडेनमाथि २०२० मा संघीय अनुसन्धान भइरहेको खुलासा भएको थियो । २०२४ मा उनलाई झूटा विवरण दिएर बन्दुक किनेको आरोपमा दोषी ठहर गरिएको थियो । त्यसैगरी, उनलाई १.४ मिलियन डलर कर नबुझाएको सम्बन्धमा पनि दोषी ठहर गरिएको थियो । हन्टरलाई ४२ वर्षसम्मको जेल सजायको सम्भावना रहेको बताइएको थियो ।

हन्टरले आइतबार प्रकाशित बयानमा आफूले पाएको राहतप्रति आभार व्यक्त गर्दै भने, “मैले मेरो लतको अन्धकारमय समयमा गरेका गल्तीहरू स्वीकार गरेको छु । अब म बाँकी जीवन अन्य पीडितहरूको सहयोगमा समर्पित गर्नेछु ।”

यो माफीले राष्ट्रपति बाइडेनको नेतृत्वमा पारदर्शिता र निष्पक्षताको वाचा कमजोर बनाएको भन्दै आलोचना भइरहेको छ । आलोचकहरूले यसलाई राष्ट्रपतिको विश्वासमाथि प्रहार भनेका छन्, भने समर्थकहरूले परिवारप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको तर्क गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पले यस कदमको आलोचना गर्दै यसलाई “न्यायको दुरुपयोग” भनेका छन् । त्यसो त ट्रम्पले आफ्नो कार्यकालमा आफ्ना निकट व्यक्तिहरूलाई क्षमा दिएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : २४ बजे