४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

सिरियामा २४ वर्षे तानाशाहीको अन्त्य



सिरियामा विद्रोहीले राष्ट्रपति बसर अल असदले देश छाडेको बताएका छन् । विद्रोहीले लडाकूहरु राजधानी दमास्कस प्रवेश गरेपछि असदले देश छाडेको बताएका हुन् ।

शनिबारदेखि सिरियाका मुख्य-मुख्य सहर कब्जा गर्दै अघि बढेको विद्रोही समूह आइतबार दमास्कस पुगेको थियो । दमास्कस पुगेपछि राष्ट्रपति बसर अल असदले देश छाडे ।

विद्रोही लडाकू समूहले सिरियाको सरकारी टेलिभिजनबाट आइतबार दिउँसो सम्बोधन गर्दै सिरियामा २४ वर्षे तानाशाही शासनको अन्त्य भएको घोषणा गरेको छ । उनीहरूले सिरिया अब स्वतन्त्र भएको र यहाँबाट विस्थापितहरू फर्कन सक्ने र असदले जेल हालेकाहरू पनि मुक्त हुने बताएका छन् ।

आइतबार बिहान ४ सहर दारा, कुनेत्रा, सुवेदा र होम्स २४ घन्टामै कब्जा गरेर दमास्कस छिरेलगत्तै राष्ट्रपति असद भागेको भनिएको थियो । यद्यपि उनको सचिवालयले भने विज्ञप्ति निकालेर नै राष्ट्रपति असद दमास्कसमै रहेको दावी गरेको थियो ।

यद्यपि त्यहाँको सेनाले आफ्ना कर्मचारीलाई राष्ट्रपति असद देशमा नरहेको भन्ने ब्रिफिङ गरेको थियो । लगत्तै विद्रोही समूहले त्यहाँको सरकारी टेलिभिजनबाट सिरियाली नागरिकहरूलाई सम्बोधन गर्दै असदको शासन अन्त्य भएको घोषणा गरेको हो ।

विद्रोहीहरुलाई अमेरिकालगायत पश्चिमा देशहरुले सघाइरहेका थिए भने असदको शासनलाई रुसले सघाउँदै आएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २९ बजे