सहकारी ठगी, संगठित अपराध र सम्पति सुद्धिकरण प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज पुर्याइएको छ ।
लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा हुँदै वीरगञ्ज पुर्याइएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट सिधै वीरगञ्ज लगिएको थियो ।
रविसहित १४ जनाविरुद्ध वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई फरार छन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत अपचलन भएको बताइएको छ ।
यस सहकारीबाट पनि गोर्खा मिडियामा रकम आएको देखिएपछि लामिछाने अनुसन्धानमा तानिएका हुन् ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’