१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

अमेरिकाले जफत गरेको रूसी सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिए



अमेरिकाले रुसको जफत गरेको सम्पत्ति मध्ये युक्रेनलाई २० अर्ब डलर दिएको छ । उसले जफत गरेको रूसी सम्पत्तिबाट युक्रेनलाई २० अर्ब अमेरिकी डलर ऋण सहायता गरेको हो ।

अमेरिकी अर्थमन्त्री जेनेट यलेनले मंगलबार नै २० अर्ब डलर विश्व बैंकको फण्डमा जम्मा गरेको र त्यहाँबाट युक्रेनले पाउने बताए ।

रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३२५ अर्ब डलर सम्पत्ति रोकेर राखेका छन् ।

पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत जुनमा इटालीमा भएको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो । त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

अमेरिकाले २०२४ को अन्तिमसम्ममा युक्रेनलाई सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही अनुसार उसले मंगलबार २० अर्ब डलर पठाएको हो ।

बाँकी ३० मध्ये युरोपियन युनियनले २० अर्ब डलर तथा बेलायत, जापान र क्यानडाले पनि मिलेर १० अर्ब डलरको ऋण दिनेछन् ।

अमेरिकाले गैरसैन्य ऋण वर्ल्ड बैंक ट्रस्ट फन्ड मार्फत दिन्छ । यो ऋण रोकेर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीबाटै तिरिने छ । युक्रेनले तिर्नुपर्दैन ।

युक्रेनले अहिलेसम्म ३०० सय अर्ब डलरभन्दा बढी सैन्य र आर्थिक सहायता पाइसकेको छ । अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प भने युक्रेनलाई अमेरिकाले दिने सहायता घटाउने बताउँदै आइरहेका छन् । उनले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् । ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्दैछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ४५ बजे