आँटे के हुन्न? भन्ने कुराको उदाहरण बनेको छ, जारी नेपाल प्रिमियर लिग(एनपीएल) । नेपाल क्रिकेट संघका चतुर बहादुर चन्द अध्यक्ष र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सचिव भएर नयाँ चयन भएको कार्यसमितिले केही हुन्न भन्नेहरुलाई दह्रो जवाफ दिएको छ ।
जारी एनपीएलको जति चर्चा र लोकप्रियता देखिएको छ यसको पुरस्कार राशीको घोषणाले पनि सबैलाई चकित बनाएको छ । संभवत नेपाली खेल क्षेत्रमा यो सबैभन्दा ठूलो धन राशीको पुरस्कार हो ।
एनपीएलको विजेता टिमले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको टिमको लागि पुरस्कार राशीबारे जानकारी दिएको हो ।
क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ पाउनेछ ।
आठ टिम सहभागी पहिलो संस्करणको एनपीएलको प्लेअफमा पुग्ने ४ टिमको टुंगो लागिसकेको छ । प्लेअफमा पुग्ने टोलीमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन् ।
लिग चरणको खेल सकिएसँगै अब इलिमिनेटर र क्वालिफायर चरणको खेल हुनेछ । पुस ६ मा हुने फाइनलले ऐतिहासिक एनपीएल च्याम्पियनको छिनोफानो लाग्नेछ ।