४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

ट्रम्पद्वारा आइओवाको समाचार पत्रविरुद्ध पनि मुद्दा



हालै एबीसी न्यूजबाट १५ मिलियन सेटलमेन्ट र एक मिलियन डलर वकिलको शुल्क असुलेका अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइओवाको एक समाचार पत्रबिरुद्ध पनि मुद्दा दायर गरेका छन् ।

उनले डेस मोइन रजिस्टर र यसको अभिभावक कम्पनीविरुद्ध मत सर्वेक्षणमार्फत २०२४ को राष्ट्रपतिको चुनावमा “स्पष्ट हस्तक्षेप” गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।

नोभेम्बर २ मा प्रकाशित उक्त सर्वेक्षणले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले मुख्यत: रिपब्लिकन राज्य मानिने आइओवामा विजय हासिल गर्ने अनुमान गरेको थियो । तर, केही दिनपछि भएको चुनावमा ट्रम्पले १३ अङ्कको अग्रता लिँदै आइओवामा स्पष्ट जित हासिल गरेका थिए ।

सञ्चारमाध्यमप्रति निरन्तर आलोचनात्मक रहेका ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा मिडियालाई “भ्रष्ट” को संज्ञा दिँदै उक्त मुद्दा दायर गर्ने घोषणा गरेका थिए । पोल्क काउन्टी, आइओवामा दायर गरिएको यो मुद्दामा उनले चर्चित मत सर्वेक्षणकर्ता जे. एन. सेल्जरलाई “चुनाव हस्तक्षेप” गरेको आरोप लगाएका छन् ।

उक्त सर्वेक्षणले राष्ट्रपति निर्वाचित ट्रम्पले आइओवामा ३ देखि ४ अङ्कले पराजय हुने अनुमान गरेको थियो, जसलाई अन्य सर्वेक्षणहरूले समर्थन गरेको थिएन । “मेरो विचारमा यो ठगी हो र यो चुनाव हस्तक्षेप हो,” ट्रम्पले भनेका छन्, “मैले यो मुद्दा दायर गर्नुपर्छ । यसको लागि ठूलो खर्च लाग्छ तर मिडियालाई ठीक गर्नुपर्छ ।”

मुद्दामा सेल्जरले जानाजानी सर्वेक्षणको नतिजा ह्यारिसको पक्षमा प्रभावित बनाएको दावी गरिएको छ । “यो ह्यारिसको पक्षमा कुनै गल्ती होइन, तर २०२४ राष्ट्रपतिको चुनावको परिणामलाई प्रभाव पार्ने नियत थियो,” मुद्दामा उल्लेख छ ।

डेस मोइन रजिस्टरका प्रवक्ताले भने सर्वेक्षणको सबै प्राविधिक विवरण सार्वजनिक गरिसकेको जानकारी दिँदै भनेका छन्, “हामी हाम्रो समाचारको स्थायित्वमा विश्वास गर्छौं । यो मुद्दा आधारहीन हुनेछ ।”

फ्रिडम अफ द प्रेस फाउन्डेसनका निर्देशक अधिवक्ता सेथ स्टर्नले भने यस्तो मुद्दाले मिडियामाथि दवाव सिर्जना गर्न सक्ने बताएका छन् । “पत्रकारहरूले प्रशासनले निगरानी गरिरहेको महसुस गर्दै काम गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,” उनले एक पोस्टमार्फत भनेका छन् ।

यसअघि ट्रम्पले सिएनएन, वासिङ्टन पोस्ट, र न्युयोर्क टाइम्स विरुद्ध पनि मुद्दा दायर गरेका थिए । उनले आफ्ना अन्तिम चुनाव प्रचारका दिनहरूमा कमला ह्यारिससँगको अन्तर्वार्ताको सम्पादनका लागि सिबिएस विरुद्ध पनि मुद्दा दायर गरेका छन् ।

ट्रम्पको पछिल्लो मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलरमा सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ०२ बजे