१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

रवि र छविसहित ३१ जनालाई तीन कसुरमा मुद्दा, रवि पत्नी निकिताको सम्पति जफत गर्न माग



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले रवि र छविसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अभियोग दर्ता गरिएकाहरमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङ रहेका छन् । यस्तै बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो । उनीहरुविरुद्ध व्यक्तिगत र सामुहिक बिगो कायम गरिएको छ ।

जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत अभियोग दर्ता गरिएको हो ।

दोस्रो चरणको अनुसन्धानमा छविलाल बन्जाडे जोशी असोज ६ गते पक्राउ परेका थिए । त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो । त्यसको एक महिनापछि रविलाई पक्राउ गरिएको भएर उनले ६० दिन हिरासतमा बसिसकेका छन् ।

सोमबारबाट अदातलमा बयान सुरु हुनेछ भने त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि न्यायधीसले अभियुक्त्तहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा राख्ने भन्ने आदेश गर्नेछ ।

रवि पत्नी निकिताको सम्पति जफत गर्न माग

सहकारी ठगीमा अभियोजित रास्वपा सभापति लामिछानेकी पत्नी निकिता पौडेललाई पनि सरकारी वकिल कार्यालयले प्रतिवादी बनाइएको छ । उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो ।

लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग लगाउँदै निकिताको नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने पनि भनिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : ४१ बजे