४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

चील अब अमेरिकाको राष्ट्रिय चरा



अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एउटा ऐतिहासिक कदम चालेका छन् । उनले चीललाई आधिकारिक रूपमा अमेरिकाको राष्ट्रिय चरा घोषित गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यो विधेयकले अमेरिकाको २४० वर्षभन्दा लामो इतिहासमा पहिलो पटक चीललाई “राष्ट्रिय चरा” को रूपमा कानूनी मान्यता दिएको छ ।

चीलको सेतो टाउको, पहेंलो चोच र खैरो शरीरका कारण यसलाई अमेरिकामा शक्ति र दृढताको प्रतीक मानिन्छ । १७८२ मा ग्रेट सिल अफ द यूनाइटेड स्टेट्सको डिजाइनमा समावेश गरिएको चीलले राष्ट्रको शक्ति, शान्ति र ऐक्यबद्धताको प्रतिनिधित्व गर्दछ । यो ग्रेट सिल आधिकारिक दस्तावेजहरू, राष्ट्रपतिको झण्डा, सैन्य चिह्न र अमेरिकी मुद्राहरूमा देखिन्छ ।

१८ औं शताब्दीमा चीललाई राष्ट्रिय प्रतीक मानिए पनि यो विधेयकले यसलाई राष्ट्रिय चरा घोषित गरेर कानूनी रूपमा मान्यता दिएको हो ।

अमेरिकी कांग्रेसले यो विधेयक पास गरी राष्ट्रपति बाइडेनलाई पठाएको थियो । यो विधेयक अनुसार अब चील अमेरिका र उत्तर अमेरिकामा पाइने प्रमुख पक्षीको रूपमा औपचारिक रूपमा मान्यता प्राप्त भएको छ ।

यो विधेयकमा हस्ताक्षर पछि राष्ट्रपति बाइडेनले भने, “चील हाम्रो देशको गौरव, स्वतन्त्रता र शक्ति प्रतीक हो । यसलाई राष्ट्रिय चरा घोषणा गर्नु हाम्रो इतिहास र पहिचानप्रतिको सम्मान हो ।”

यो कदमलाई इतिहासकार र संरक्षणविद्हरूले चीलको महत्त्वप्रति सम्मान देखाउने महत्त्वपूर्ण निर्णयका रूपमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : २८ बजे