४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

दक्षिण कोरियामा विमान दुर्घटना: मृतक संख्या १७७ पुग्यो



दक्षिण कोरियाको मुआनमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ । आपत्तकालिन सेवाका अनुसार, विमानमा सवार १८१ जनामध्ये हालसम्म दुई जना हराइरहेका छन् ।

यस दुर्घटनामा दुई जना चालक दलका सदस्य – एक पुरुष र एक महिला – जीवित रहेको पुष्टि भएको छ । ती दुईलाई विमानको पुच्छरबाट उद्धार गरिएको थियो ।

सीएनएनका अनुसार दक्षिण कोरियाको जोल्ला प्रान्तस्थित मुआनमा उद्धार प्रयासलाई तीव्र बनाइएको छ । यसका लागि सेनासहित प्रहरी र सरकारी निकायका १,५७० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।

परिवहन मन्त्रालयका एक अधिकारीका अनुसार, दुर्घटनाको कारण पत्ता लगाउन नियन्त्रण टावरका कर्मचारीसँग अन्तर्वार्ता गर्ने योजना बनाइएको छ । साथै, विमान र टावरबीचको सञ्चार डेटा पनि समीक्षा गरिनेछ ।

दुर्घटना भएको विमान, जेजु एयर फ्लाइट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । टावरले विमानलाई रनवेको विपरीत दिशामा अवतरण गर्न निर्देशन दिएको दुई मिनेटमै यो घटना भएको हो ।

विशेषज्ञहरूले प्रारम्भिक अनुमानअनुसार अवतरणका लागि आवश्यक पाङ्ग्रा नखुलेका कारण दुर्घटना भएको बताइरहेका छन् । तर, पाङ्ग्रा किन नखुलेको भन्ने अझै स्पष्ट छैन ।

यो दुर्घटना दक्षिण कोरियाको इतिहासमा १९९७ पछि सबैभन्दा ठूलो मानिएको छ । उक्त वर्ष कोरियन एयरलाइन्सको बोइङ ७४७ विमान गुआमको जंगलमा खसेको थियो, जसमा २२८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ४५ बजे