दुई हप्ताभित्र तीन पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएकी नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको ‘साहसी खेलाडीको सूची’ मा परेकी छिन् । उनी सीएनएनले सार्वजनिक गरेको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा सूचीकृत भएकी हुन् ।
फोटोपत्रकारसमेत रहेकी श्रेष्ठ एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला बन्न सफल भएकी हुन् । उनले २०२४ को मे १२, १९, र २५ मा लगातार सगरमाथाको आरोहण गरेर इतिहास रचेकी थिइन् ।
सीएनएनको सूचीमा परेसँगै श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उत्साह र गौरव व्यक्त गरेकी छिन् । ‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ,’ उनले लेखेकी छन् ।
पूर्णिमा सातौँ अग्लो हिमाल धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनले २०२१ मा पासाङ लाह्मु शेर्पा अकितासँगै धौलागिरीको शिखरमा पाइला टेकेकी थिइन् ।
श्रेष्ठको यो उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रमा मात्र नभई, विश्वका साहसी खेलकुद क्षेत्रमा पनि उच्च सम्मान पाएको छ। यो सफलता महिलाहरूलाई चुनौतीहरू पार गर्दै आफ्ना सपना हासिल गर्न प्रेरणा प्रदान गर्ने एउटा उदाहरण बनेको छ ।
सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ सूचीमा पूर्णिमासँगै धावक रस कुक पनि छन् । ब्रिटिश धावक रस कुकले ३६० म्याराथन बराबरको दूरी २४० दिनभित्र पूरा गर्दै अफ्रिकाको सम्पूर्ण लम्बाइ दौडेर पूरा गरेका थिए । यो यात्रा चुनौतीपूर्ण मात्र होइन, खतरनाक पनि थियो – उनी जंगलमा हराए, बन्दुकधारीले लुटे, र विभिन्न कूटनीतिक समस्याहरू सामना गरे ।
त्यस्तै अर्की महिला जस्मिन पेरिस बार्क म्याराथनका पाँच चरण पूरा गर्ने पहिलो महिला हुन् । यस कठिन दौडले उनले शारीरिक र मानसिक रूपमा क्षमतामा कुनै पनि सीमाना छैन भन्ने प्रमाणित गरिन् । त्यसैगरी अष्ट्रेलियाको चारैतर्फ साइकल यात्रा ३० दिनमा पूरा गरी विश्व कीर्तिमान बनाएका लाचलन मोर्टन, विश्वलाई साइकलबाट सबभन्दा छिटो परिक्रमा गर्ने महिला लेल विल्कक्स, विश्वकै सबैभन्दा ठूलो छाल चढ्दै नयाँ कीर्तिमान कायम गर्ने सेबास्टियन स्टुड्टनर, टुर डे फ्रान्सको चरण जित्ने पहिलो अफ्रिकी साइकलिस्ट बीनियम गिर्माय पनि आफ्नो साहस र प्रतिबद्धताले असम्भवलाई सम्भव बनाएका खेलाडीमा परेका छन् ।