४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

नेपालका मित्र अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन



नेपालको मित्र भनेर समेत चिनिने अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । उनको निधनको पुष्टि उनले स्थापना गरेको कार्टर सेन्टरले गरेको हो ।

उनले नेपालको सबै जसो ठूला राजनीतिक उथलपुथललाई नजिकबाट नियालेका थिए भने त्यसको समाधानमा पनि केही न केही योगदान गरेका थिए ।

उनले बिशेष गरेर नेपालको शान्ति प्रकृया र संविधानसभाको चुनावका लागि पहल गरेका थिए भने पञ्चायती कालमै उनले तत्कालिन समयमा राजा बीरेन्द्रले जेलमा राखेका बीपीको रिहाइको लागि राजा बीरेन्द्रसँग कुरा गरेको बताइन्छ ।

उनले नेपालमा मात्र होइन, आफैले स्थापना गरेको कार्टर सेन्टर मार्फत विश्वभर शान्ति र लोकतन्त्रका लागि काम गरेका थिए ।

इतिहासमै सबैभन्दा लामो समयसम्म जीवित रहेका अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले गएको अक्टोबरमा आफ्नो १०० औँ जन्मदिन मनाएका थिए । सेन्टरका अनुसार उनको निधन आइतबार जर्जियास्थित प्लेन्समा रहेको आफ्नै घरमा भएको हो ।

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका डेमोक्र्याट जिम्मी कार्टरको कार्यकाल आर्थिक संकट र कूटनीतिक चुनौतीहरूले भरिपूर्ण थियो । ह्वाइट हाउसबाट कम लोकप्रियतासहित बाहिरिएका कार्टरको ख्याति मानवतावादी कार्यका कारण विश्वभर स्थापित भयो । यसै कार्यका लागि उनलाई नोबेल शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो ।

“मेरो बुबा मात्र मेरो लागि नभएर शान्ति, मानव अधिकार र निःस्वार्थ प्रेममा विश्वास गर्ने सबैको लागि नायक हुनुहुन्थ्यो,” उनका छोरा चिप कार्टरले भनेको बीबीसीले उल्लेख गरेको छ, “उहाँले संसारलाई परिवारसरह जोडे, र हामी उहाँको स्मृतिलाई सम्मान गर्न साझा विश्वासहरूमा अडिग रहने प्रतिबद्धता जनाउँछौं ।”

जिम्मी कार्टरको जीवनी अद्वितीय थियो । अमेरिकी नौसेनाका लेफ्टिनेन्ट, जर्जियाका गभर्नर र किसान रहेका कार्टरका चार सन्तान, ११ नातिनातिना र १४ पनातिनातिना छन् । उनकी पत्नी रोजलिन कार्टरको ७७ वर्षको उमेरमा सन् २०२३ को नोभेम्बरमा निधन भएको थियो ।

सन् २०१८ मा जर्ज एचडब्ल्यू बुसको निधनपछि कार्टर अमेरिकाका सबैभन्दा जेष्ठ जीवित पूर्व राष्ट्रपति थिए । गत वर्ष उनले अज्ञात रोगका कारण आफ्नो चिकित्सा उपचार रोकेर आफ्नै घरमा उपचार सेवा लिन सुरु गरेका थिए ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीलगायतले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी १९८० मा भारी अन्तरले रिपब्लिकन रोनाल्ड रेगनसँग राष्ट्रपतिमा पराजित भए पछि आफ्नो जीवन शान्ति, न्याय र सेवातर्फ मोडे । उनले नेल्सन मण्डेलासँग मिलेर द एल्डर्स समूह स्थापना गरे । सन् २००२ मा नोबेल पुरस्कार ग्रहण गर्दै उनले भनेका थिए, “सबैभन्दा गम्भीर र सार्वभौमिक समस्या भनेको धनी र गरिबबीचको बढ्दो खाडल हो ।”

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ११ : ०० बजे