४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

यस्ता थिए न्युअर्लिन्स आक्रमणमा मारिएकाहरु



नयाँ वर्षको पहिलो दिनमा अमेरिकाको न्यूअर्लिन्समा भएको आक्रमणमा १४ जनाको मृत्यु भयो । मृतकहरूको पहिचान अहिले परिवार र आफन्तहरूले खुलाएका छन् । आक्रमणकारी ४२ वर्षीय शम्सुद्दिन जब्बार प्रहरीसँगको भिडन्तमा मारिएका थिए । उनीहरुको बारे बीबीसीले बटुलेको जानकारीको आधारमा यहाँ प्रस्तुत गरिएको छ ।

मार्टिन ‘टाइगर’ बेक, प्रिन्स्टन विश्वविद्यालयका पूर्व फुटबल खेलाडी थिए । उनका कोचहरूले ‘टाइगर’ उपनामलाई उनको प्रतिस्पर्धात्मक र ऊर्जावान व्यक्तित्वको प्रतीक मानेका छन् । उनका भाइ ज्याक बेकले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, “तिमी सधैं मेरो प्रेरणा रह्यौ ।”

निकाइरा चेयन्ने डेडिओक्स, १८ वर्षीया नर्स बन्ने सपना बोकेकी किशोरी हुन् उनी । उनकी आमाले सामाजिक सञ्जालमा दु:ख व्यक्त गर्दै भनेकी छन्, “मेरो बच्चा गुमाएँ, कृपया प्रार्थना गर्नुहोस् ।” नर्स प्रशिक्षण सुरु गर्न उनी जनवरीमा तयारी गर्दै थिइन् ।

रेजी हन्टर, ३७ वर्षीय पसलका प्रबन्धक र दुई सन्तानका पिता थिए । परिवारलाई मध्यरातमा शुभकामना पठाएका उनी अर्को आफन्तसँगै आक्रमणमा परेका थिए ।

करीम बदावी, अलाबामा विश्वविद्यालयका विद्यार्थी थिए । उनका पिताले भनेका छन्, “हामी अल्लाहसँग दया र धैर्यका लागि प्रार्थना गर्दछौं ।”

ह्युबर्ट गौथ्रोक्स, आर्कबिशप शा हाई स्कूलका पूर्व विद्यार्थी थिए । विद्यालयले उनलाई श्रद्धाञ्जली दिँदै ‘शान्तिमा आराम गर्न’ प्रार्थना गरेको छ ।

निकोल पेरेज, चार वर्षीय छोराकी आमा थिइन् । उनी डेली स्टोरको प्रबन्धक थिइन् । उनका सहकर्मीले उनलाई “जीवन्त र मिहिनेती” व्यक्ति भनेका छन् ।

म्याथ्यु टेनेडोरियो, २५ वर्षीय अडियो-भिजुअल प्राविधिक थिए । उनको परिवारले अस्पताल वा प्रहरीले आवश्यक जानकारी नदिएकोमा आक्रोश व्यक्त गरेका छन् ।

ड्र्यु डफिन, २०२३ मा अलाबामा विश्वविद्यालयबाट स्नातक गरेका थिए । विश्वविद्यालयले परिवारप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

बिली डिमायो, २५ वर्षीय न्यूयोर्कका थिए । उनको विद्यालयले सामाजिक सञ्जालमा “उत्कृष्ट युवा” भनेर सम्मान गरेको छ ।

टेरेन्स केनेडी, ६३ वर्षीय न्यू अर्लिन्सका स्थायी बासिन्दा थिए । परिवारले उनी खेलकुदप्रेमी र शान्त स्वभावका व्यक्ति भएको बताएका छन् ।

धेरै पीडितका आफन्तले अस्पताल र प्रहरीबाट राम्रोरी जानकारी नपाएको गुनासो गरेका छन् । विशेषगरी म्याथ्यु टेनेडोरियोका परिवारले आक्रमणका समयमा के भयो भन्ने प्रष्ट जानकारी दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ४७ बजे