सगरमाथा राष्ट्रिय निकुञ्ज, पासाङल्हामु गाउँपालिका र स्थानीयले हेलिकप्टर उडानमा अवरोध गरेपछि प्रशासनले कारवाहीको चेतावनी दिएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले विज्ञप्ति जारी गरी भनेको छ, ‘‘केही दिनदेखि सोलुखुम्बु जिल्लामा रहेका विभिन्न हेलिप्याडहरूमा अनाधिकृत व्यक्तिहरूले हेलिकोप्टर आवागमन (उडान) मा अवरोध पुर्याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएकाले जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण भएको छ । नियमअनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने छ ।’
यसअघि हेलिकोप्टर उडानले हुने अत्याधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाइएको छ ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत सगरमाथा क्षेत्र भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मंसिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सरोकारवाला संस्थाले मंसिर २५ गते दुई बुँदे निर्णय गर्दै पर्यटक आवागमन हुनेलगायतका व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ (१ जनवरी २०२५) देखि रोक लगाउने निर्णय गरेको जनाएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने गाउँपालिका र निकुञ्जको निर्णय कानुनविपरीत भएको भन्दै असमति जनाएको थियो । त्यस क्षेत्रमा हेलिकोप्टर उडान गर्दै आएका व्यवसायी र वायुसेवा सञ्चालक संघले पनि गैरसैनिक हवाई ऐनलगायतका कानुनको हवाला दिँदै खुम्बु क्षेत्रमा व्यावसायिक उडानलाई निरन्तरता दिन पाउनु पर्ने जनाएका छन् ।
तर आइतवारदेखि हेलिप्याडमा झण्डा गाडेर अवतरणमा अवरोध गरेपछि खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थागति गराइएको छ ।