अमेरिकामा दशकमै सबैभन्दा चिसो तापक्रम र भारी हिमपात ल्याउने विशाल हावाहुरीले ६ करोडभन्दा बढी मानिसलाई प्रभाव पारेको छ । बीबीसीका अनुसार सातवटा राज्य—कान्सस, मिसौरी, केन्टकी, भर्जिनिया, पश्चिम भर्जिनिया, अर्कान्सस र न्यू जर्सीका केही भागमा आपतकाल घोषणा गरिएको छ ।
मौसमविद्हरूका अनुसार यो चरम मौसम ‘पोलर भोर्टेक्स’ नामक आर्कटिक क्षेत्र वरिपरि घुम्ने चिसो हावाको क्षेत्रको कारणले आएको हो । यसले मध्य अमेरिकामा अत्यन्त चिसो तापक्रम ल्याएको छ ।
हजारौं उडानहरू रद्द वा ढिलो भएका छन् भने धेरै सडकहरू अबरुद्ध भएका छन् । विद्यालयहरू बन्द गरिएका छन् । हावाहुरीको कारण धेरै ठाउँमा दैनिक जीवन अस्तव्यस्त भएको छ ।
नेशनल वेदर सर्भिसले केही क्षेत्रमा चरम चिसो र खतरनाक हावाको चेतावनी दिएको छ । दक्षिण पश्चिम र दक्षिण मध्य अलाबामा, दक्षिणपूर्व मिसौरी र उत्तर पश्चिम फ्लोरिडामा चिसो हावाको चेतावनी जारी गरिएको छ ।
हावाको चिसोपनले तापक्रम -८ डिग्री सेल्सियससम्म झर्ने अनुमान छ । तटीय क्षेत्रमा ७ फिटसम्मको खतरनाक छाल र प्राणघातक समुद्री बहावको चेतावनी दिइएको छ । नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, धेरै तहको न्यानो लुगा लगाउन र अत्यावश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।
युटाहको लिटिल कटनवुड क्यानियनमा भारी हिमपातका कारण हिमपहिरो आएको छ । स्थानीय सञ्चार माध्यमले १२.७ सेन्टिमिटर हिमपात भएको र यसले स्की खेलाडीहरूलाई फस्न बाध्य पारेको जनाएका छन् ।
कान्ससका केही भागमा हावाहुरीका कारण ११ इन्चसम्मको हिमपात भएको छ, जुन त्यहाँको चौथो ठूलो एकदिने हिमपात हो ।
यो हावाहुरीले ओहायो उपत्यकाबाट मध्य-अटलान्टिक क्षेत्रतिर सर्ने क्रममा आज थप ६-१२ इन्च हिमपात र चिसो तापक्रम ल्याउने अनुमान गरिएको छ । तर, मौसमले सोमबारदेखि सुधार ल्याउने आशा गरिएको छ ।