नेपालसँग सीमा जोडिएको चीनको तिब्बतमा भूकम्प जाँदा कम्तीमा ९५ जनाको मृत्यु भएको छ भने १३० भन्दा धेरै घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको थियो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति सी चीन फिङले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि निर्देशन दिएका छन् । त्यसै अनुसार उद्दारटोली खटिएका छन् ।
भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटान, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको बताइएको छ । यद्यपी तिब्बतमा बाहेक अन्त हाताहातिको खवर छैन ।