४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

लस एञ्जलसमा डढेलोबाट ५ जनाको मृत्यु, १ लाख ३७ हजार भन्दा बढी विस्थापित



लस एञ्जलस र वरपरका भेन्टुरा काउन्टीमा हाल कम्तीमा छवटा स्थानमा डढेलो लागेको छ । ती मध्ये पाँच डढेलोको आंशिक रूपमा नियन्त्रणमा आएको छ भने यसलाई लस एञ्जलसको इतिहासकै सबैभन्दा विनाशकारी डढेलो मानिएको छ।

डढेलो लस एञ्जलस क्षेत्रको इटन, प्यालिसेड्स, वुडली, ओलिभास, र लिडिया फैलिएको छ । इटन र प्यालिसेड्स डढेलो हालसम्म पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको छैन । यी दुई डढेलोले करिब २६,४०० एकड जमिन नष्ट गरिसकेका बताइएको छ ।

त्यसैगरेर इटन डढेलोको कारण पाँच जनाको ज्यान गइसकेको छ भने १ लाख ३७ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । डढेलो नियन्त्रणको लागि दमकलकर्मीहरूले पानी अभावको कारण पोखरी र स्विमिङ पूलबाट पानी झिकेर प्रयोग गरिरहेका छन् ।

बीबीसीका अनुसार हलिउड हिल्सको रनियन क्यानियन नजिकैको क्षेत्रमा बुधबार साँझ अर्को डढेलो फैलिएको छ । यसले हलिउडका मुख्य क्षेत्रहरूलाई प्रभावित पारेको बताइएको छ । सडकहरू जाम छन्, मानिसहरू आफ्नो घर छाडेर केही महत्त्वपूर्ण सामान बोकेर भागिरहेका छन् । घना धुँवाको कारण जनजीवन थप कष्टकर बनेको छ ।

लस एञ्जलसकी मेयर करेन बास डढेलो सुरु हुँदा राम्रो रेस्पोन्स नगरेको भन्दै आलोचना भोगिरहेकी छन् । साथै, उनले गत वर्ष फायर डिपार्टमेन्टको बजेटबाट १७ मिलियन डलर कटौती गरेको खबरले जनआक्रोश बढाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यालिफोर्नियामा प्रमुख विपत्ति घोषणा गरेका छन् । यसले प्रभावित व्यक्तिहरूलाई संघीय सहायता उपलब्ध गराउने बाटो खुला गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : १६ बजे