राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छुटेकाे चार दिनमै फेरी हिरासत पुगेका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाइ न्यायिक हिरासतमा पठाएको हाे ।
काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए ।
लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको हाे । लामिछानेविरुद्ध काठमाडौंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।