लस एन्जलस काउन्टीमा डढेलोको जोखिम अझै उच्च रहेको भन्दै मौसम विभागले अर्को चरणका हावाहरूको पूर्वानुमान गरेको छ । यसले डढेलो नियन्त्रण प्रयासमा थप चुनौती थप्ने देखिएको बताइएकाे छ ।
काउन्टीका अग्नि प्रमुखले यो स्थितिलाई “अत्यन्त गम्भीर” भनेका छन् । काउन्टीका तीन ठूला क्षेत्रहरू—प्यालिसेड्स, इटन, र हर्स्टमा हाल डढेलो जारी छ ।हालसम्म डढेलोका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ११ जना इटन डढेलोबाट, ५ प्यालिसेड्स डढेलोबाट मारिएका हुन भने १३ जना अझै हराइरहेकाे बताइएकाे छ ।
लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रेस सम्मेलनमा जानकारी दिए अनुसार ६०० प्रहरी अधिकारी र १०० नेशनल गार्ड सदस्य उद्धार कार्यमा खटाइएको छ । प्रभावित क्षेत्रका १,०५,००० बासिन्दा अझै पनि अनिवार्य रूपमा सुरक्षित ठाउँमा सारिएका छन् । उनले भने, “तपाईंको जीवन खतरामा छ, कृपया तत्काल सुरक्षित स्थानमा जानुहोस् ।”
प्रहरीले औषधि र घरपालुवा जनावर लिन अनुमति दिएका थिए, तर माग अत्यधिक भएकोले यो प्रक्रिया स्थगित गरिएको छ । उद्धार टोलीले ३६४ वटा स्थानमा खोजतलास गर्दा तीन जनाको शव फेला परेको जनाएको छ ।
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका नेताहरूलाई “अक्षम” भनेका छन्, तर उनी स्वयं डढेलो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका छैनन् । लस एन्जलस काउन्टी बोर्डकी अध्यक्ष क्याथ्रिन बार्गरले ट्रम्पलाई पत्र लेख्दै वास्तविकता हेर्न र प्रभावितहरूसँग भेट्न आग्रह गरेकी छन् ।राज्यको पुनर्निर्माण प्रयासलाई तीव्र बनाउन नयाँ कार्यकारी आदेश जारी गरिएको छ । प्रभावित क्षेत्रलाई “युद्ध क्षेत्र” जस्तै देखिएको भन्दै अधिकारीहरूले धैर्य राख्न आग्रह गरेका छन् ।यही बेलामा माैका पारेर इटन र प्यालिसेड्स क्षेत्रमा चाेरी बढेकाे बताइएकाे छ । त्यस क्षेत्रबाट २९ जना पक्राउ परेका छन् ।